
सिन्धुली । सिन्धुली जिल्ला अस्पतालले आवश्यकता भन्दा कम स्वास्थ्यकर्मी भएकै अवस्थामा पनि सेवाग्राहरुको मागलाई ध्यान दिदै थप ६ वटा सेवा प्रदान गर्ने भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने उहाँले बताउनुभयाे । ३० वर्ष भन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरिने भएकाे छ । साेही रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ ।
विगतका जनआन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार हुने भएको छ । जनआन्दोलनबाट घाइते भनी सम्बन्धित निकायबाट परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय बिमा बोर्डले तोके बमोजिम उपचार सिन्धुली अस्पतालले प्रदान गर्ने भएकाे छ । सिन्धुली अस्पतालमा १६ वर्ष भन्दा माथिका हर्निया भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने समेत अस्पतालले जनाएको छ ।
सन्तान जन्माउन इच्छा पूरा भएका पुरुष तथा महिलालाई निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराइनुका साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने भएकाे छ ।
सिन्धुली अस्पतालले २४ सैं घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा र ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको मेडिकल सुपरिटेण्डेन्ट डा. उमेश प्रधानले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्