२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रविधिकाे विकाससँगै पाल्पाका कृषक यान्त्रिकरणको प्रयोगमा आकर्षित


377
Shares

पाल्पा । प्रविधिकाे विकाससँगै कम खर्चमा खेतीबाली स्याहार्न सकिने भएपछि पाल्पाका कृषकहरु यान्त्रिकीकरणको प्रयोग गर्न थालेका छन् ।

समय र लागतमा बचत हुने भएपछि पाल्पाका कृषक धान झाट्ने यन्त्र थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका हुन् । अहिले गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको छ । जसका कारण कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि यहाँका कृषकहरु आधुनिक कृषि उपकरणको प्रयोग गर्न बाध्य भएका छन् ।

कृषि प्रणालीमा भित्रिएको प्रविधिले पाल्पाका ग्रामीण भेगका कृषकलाई सहजता थपिएको छ । केही वर्ष अघिसम्म धानबाली भित्र्याउन महिनौं लाग्ने पाल्पाली कृषकलाई अहिले धान झाट्ने थ्रेसर मेसिनको प्रयोगबाट धान झाट्न र पराल माड्न निकै उपयोगी बनेको हो ।

कृषकको खेतसम्म पुग्न बनेका सहज मोटरबाटोले ट्याक्टरमा जडान गरिएको थ्रेसरले धान र पराललाई छुट्टाछुट्टै फाल्ने गर्दछ । झन्झटिलो प्रक्रिया भन्दा कम जनशक्ति र लागतमा थ्रेसरको प्रयोग गर्न सजिलो र फाइदा भएको कृषकहरुको अनुभव छ ।

खेतबारी जोत्न मिनिटिलर, धान झाट्न थ्रेसर मेसिन, कटानी गर्न रिपर र खाल्डा खन्ने मेसिनको यन्त्रिकीकरणमा लुम्बिनी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, र स्थानीय सरकारले कृषकलाई अनुदान सहयोग प्रदान गरेकाले कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्र पाल्पाका बाली विकास अधिकृत मिलन गैरे बताउनुहुन्छ ।

आज भोली गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको र कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जिल्लाका कृषकहरु आधुनिक कृषि उपकरणको प्रयोगतर्फ लागेका हुन् । यसलाई थप विस्तार गर्न तीन तहकै सरकारले कृषकको सहजताका लागि यान्त्रिकीकरणको खरिदमा अनुदान र सहुलियत दिने हो भने अझ प्रभावकारी हुने देखिन्छ ।