
काठमाडौं । दक्षिण अफ्रिका अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएको छ ।
आइतबार बिहान भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको हो ।
जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनायो ।
दक्षिण अफ्रिकाका राइली रोसोउले २५, हेनरिक क्लासेनले २१, टेम्बा बभुमाले २०, एडेन माक्ररम र डेविड मिलर १७/१७ तथा केशव महाराज र क्विन्टन डि ककले १३ रन बनाए ।
नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले ३ तथा फर्द क्लासेन र बास डि लिडेले २/२ विकेट लिए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका कोलिन एकरम्यानले अविजित ४१, स्टिफन माइबर्गले ३७, टम कपुरले ३५, म्याक्स ओडाउडले २९ तथा कप्तान स्कर्ट एडवार्ड्सले १२ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ तथा एन्रिच नोर्किया र एडिन मार्क्रमले १/१ विकेट लिए ।
नेदरल्यान्ड्सको जितले भारत भने एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतको ४ खेलबाट ६ अंक जोडेको छ । दक्षिण अफ्रिका ५ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा पाकिस्तान र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।
पाकिस्तान ४ अंक जोडेर तेस्रो, नेदरल्यान्ड्स ४ अंक जोडेर चौंथो र बंगलादेश ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । जिम्बावे ३ अंक जोडेर पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्