
बझाङ । गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् ।
बाढी पहिरोका कारण कारण उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पीडितहरुले बगाएको घर खेत देखाउँदै आफूहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरु घरदैलोमा पुगेका बेला आफूहरुको समस्या समाधान गर्न कुनै पनि पहल नगरेको बताउँदै आगामी निर्वाचनमा बाढी पीडितका समस्या समाधान गर्ने बाँचापछि मात्र भोट दिने बताएका हुन् ।
खप्तडछान्ना – १ खाती गाउँका शुरेन्द्र खातीले भन्नुभयो, “ एक वर्षसम्म आश्वासनमा बितायौ, सरकारी क्षेत्रबाट सोचे जति सहयोग भएन । यो निर्वाचनमा भने हाम्रा समस्या समाधान गर्नेलाई कसम खुवाएर मात्रै भोट हाल्ने निर्णयमा पुगेका छौँ ।”
बाढी र पहिरोका कारण उठिबास भएका जिल्लाको खप्तड छान्ना गाउँपालिकाका झण्डै ७७ परिबारको अहिलेसम्म पनि बिचल्लीमा छन् । कसैको बस्ने घर छैन् भने कसैले आफन्तको गोठ तथा घरमा शरण लिएर बस्नु परेको छ ।
उब्जनी हुने खेतीयोग्य जमिन बगरमा परिणत भएपछि यहाँका बाढी पीडितहरुलाई एक छाक टार्न समेत धौँधौँ भएको छ । घर खेत बगाएर सुकुम्बासी बनेका खप्तड छान्ना – १ का रिने खातीले भन्नुभयो, “पटक पटक बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा धाउँदै आएको छु । सबै ठाँउबाट आश्वासन मात्र पाइयो । अझ चुनावका बेला पनि भोट देउ भनेर घरदैलोमा पुगेका छन् । जसले हाम्रा समस्या सुन्छ र काम गर्छ उसलाई कसम खुवाएर मात्र भोट दिन्छौ ।”
खाती त प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरु जस्तै पालिकाका अन्य बाढी पीडितको समस्या बेग्लै छैन । यस वर्षसमेत ठूलो बाढी आउँछकी भनेर रातभरी जाग्राम बस्नु पर्ने खातीगाउँ बासीका कथाहरु झन घत लाग्दा छन् । खप्तड छान्ना गाउँपालिका– १ खातीगाउँका हर्कखातीले भन्ने “ घरको आगनमाखोला छ , राती सामान्य वर्षा भए पनि सुत्न सकि रहेका छैनौँ , कति खेर घर बगाउने हो भन्ने चिन्ता छ । अलि अलि सिमसिम पानी पर्ना साथ खोला बढेर आइहाल्छ, रात भरि खोला हेरेर जाग्राम बस्नु पर्ने अवस्था छ । बाढी पहिरो पीडितका समस्या प्रति संवेदनशिल भएर काम गर्ने नेता लाई हाम्रो सहयोग हुन्छ ।”
प्रतिक्रिया दिनुहोस्