१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘तोलाको बोली खोलामा’ !


325
Shares

मुलुकलाई संघीय र प्रादेशिक चुनावले ग्वाम्लाङ्ग छोपी सक्यो । हातका औंला भाँचेरै गन्ने हो भने अब मंसिर ४ आउन दुई हप्ता याने १४ दिन बाँकी छन् । मौसमको गर्मी निगल्दो र घरबाहिर जाडो क्रमश : बढिरहेको अनुभव भैरहेको छ । उता राजनीतिको गर्मी भने एकाएक झन्झन् बढिरहेको देखिन्छ ।

यो पटक सत्ता गठबन्धन भर्सेज प्रतिपक्ष गठबन्धनका बीच घमासानको चुनाव भएकाले अजेन्डा, मुद्दा, प्रतिबद्धता र घोषणापत्र ओझेला परेका छन् । यस्तो बेला भने पनि नभने पनि नेता र पार्टीहरूलाई चुनाव जित्न सजिलो हुन्छ । सजिलो किन पनि हुन्छ भने यहाँ कुनै एजेन्डाका पक्षमा माथापच्ची गरिरहनै पर्दैन ।

त्यसैले अहिले ओली भर्सेज देउवा, प्रचण्ड,नेपाल, झलनाथ र बाबुरामकाबीच चुनावी रिङ्मा बक्सिङ् चलिरहेको छ । जनता हुटिङ्मा मस्त छन् । कार्यकर्ताहरू नेताको पुच्छर समातेर हिडिरहेका छन् । यो जागिर पनि अब दुई हप्ताका लागि मात्र बाँकी बक्यौता छ ।

चुनावी माहोल तताउने काम प्रधानमन्त्री पत्नी याने फस्ट लेडीले गरिछन् । डडेलधुरातिरको कुनै एउटा आम सभामा बोल्दै काम चलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाकी पढेलेखेकी बुज्रक पत्नी डा.आरजू राणा देउवाले भनिछन् –‘हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता भएका उम्मेदवारलाई जिताउनुस् !’ भन्दा त गतिलो सुनियो तर गुन्दाचाहिँ यही भनाइले शेरबहादुर देउवा दाजुको डडेलधुरामा पनि दुईचार हजार भोट घटाउँन सक्छ ।

नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व मन्त्री लक्ष्मणप्रसाद घिमिरे आरजू मेमको यो भनाइलाई व्यङ्ग्य गर्दै भन्छन् –‘अब जनता आकाशतिर हेरेर नै बस्ने भए !’ यो भन्दा अघिको चुनावमा उनले हलिया, गोठाला र खेतालालाई भोट नदिनुस् भनेकी थिइन् कञ्चनपुरमा उनले नेकपाका साझा उम्मेदवार नारदमुनि रानासँग हार व्यहोरिन् ।

चुनावमा डिप्लोमेट भाषाको प्रयोग गर्नु पर्नेमा उनी जहिल्यै चिप्लिरहेकी छिन् । जनता धेरै सेन्सेटिभ छन् । मतदाताहरू हरेक क्षण पलमा सामाजिक सञ्जालबाट अपडेट भैरहेका हुन्छन् भन्ने पनि ख्याल नराख्ने मानिसहरू यसैगरी प्याच्च बोल्छन् र क्षति व्यहोर्छन् । डा.देउवाको बोली पनि ‘तोलाको बोली खोलामा’ भनेझैँ भैरहेको छ ।

चुनावमा हेलिकोप्टर प्रयोगका सन्दर्भमा पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य टुइटरमा खरो शैलीमा यस्तो लेख्छन् –‘चुनाव प्रचारको लागि हेलिकप्टर प्रयोग गर्न रोकिनु पर्छ ! निर्वाचन खर्चमा नियन्त्रणको अतिरिक्त निर्वाचनमा उम्मेदवारहरूको लागि समान खेल मैदान लागू गर्न पनि हेलिप्टर प्रयोग गर्न दिनु हुन्न ! सबैले त्यस्तो खर्च गर्न सक्दैनन् । सक्नु हुन्छ भने रोक्नुहोस् !’ यो भनाइभित्र व्यङ्ग्य मात्र नभएर डिप्लोमेसीपूर्वक जवाफ दिइएको छ । आचार्यले समान बल भएकाहरूबीच कुस्ती भएझैँ समान धन खर्च गर्नेहरूबीच मात्र चुनाव हुनु पर्छ भनेर वर्तमान निर्वाचन आयोगलाई सुझाव समेत दिनु भएको छ । अब सुझाव मान्ने नमान्ने फैसला आयोगको हो । पुराना र काबिल प्रशासकहरूको सल्लाह वर्तमान प्रशासकहरूले मान्नु निर्वाचन शुद्दीकरणको प्रयास समेत हो ।

त्यसैगरी पूर्व अर्थ सचिव रामेश्वर खनाल अझ सघन व्यङ्ग्योक्ति भावमा भन्छन् –‘पहिले हेलिकोप्टरलाई जिताऊँ, त्यसपछि जो चढे पनि भैगो !’ खनालको श्याम व्यङ्ग्यलाई समर्थन गर्दै लेखक तथा अटेरी अभियानका अभियन्ता गनेस पौडेल भन्छन् –‘हेलिकप्टर चढ्न सक्नेले चढेर आउनेलाई भोट दिऊँ । कार चढे्र आउनेलाई कार चढ्नेले, बस चढेर आउनेलाई बस चढ्नेले दिऊँ । भटभटे चढ्नेलाई भट्भटे चढ्नेले अनि पैदलेलाई पैदलेले भोट दिऊँ । जल्ले जित्ला, जित्ला ! ’

जतिजति चुनावको दिन नजिक आउँदै छ यसरी आफ्नो मान्छे या पार्टीका पक्षमा छिचरो बोल्ने काम जो कसैले गरे पनि त्यो चुनावका लागि प्रत्युत्पादक हुने गर्छ । अबका जनता निक्कै माथिल्लो चेतना स्तरका भैसकेका छन् । कोही कसैका अ‍ैँचमा कोही छैनन् । आफ्नो अन्तर्मनले जे भन्छ सोही मान्ने पक्षमा छन् ।

भाव, अभाव र प्रभावमा परेर त धेरै कम मतदाताले मात्र मत खसाल्छन् तर ती मत कुनै हालतमा निर्णायक हुन्नन् । निर्णयक मत वर्तमान नेपालमा युवाहरूकै देखिएको छ । अतः युवाहरूको मतलाई नचिढ्याऊँ बेकारमा आउने र पाउने मत पनि बिग्रला भन्ने डर हुन्छ । यो सल्लाह सबै पुराना र नयाँ राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरूलाई दिइएको हो ।

एकपटकको बोलीले तर्सेका मतदातालाई सम्हाल्न यो चुनावमा त सकिन्नँ सकिन्नँ अर्को चुनावमा पनि नसकिएला । कि कसो ? बोल्न सक्छु या पाएको भन्दैमा मुख नचलाऊँ । जनता जनाद्र्धन भएका बेला उनीहरूको मत मात्र नभएर मन पनि जितौं । चुनावमा मतदान मात्र हुँदैन मन दान पनि हुन्छ ।

बूढापाकाले भनेको बोली यतिखेरकै लागि हो –‘मुखबाट फुत्केको बोली र बन्दुकबाट उम्केको गोली फेरि कसैगरी पनि फिर्ता हुँदैनन् है !’ अतः आफ्नो सर्दो हेर्ने हो भने फुकीफुकी पाइला चालौं । ओलीजी, आरजूजी, गगनजी, प्रचण्डजी, नेपालजी र बाबुरामजी यी सबै छुचो मुख भएकाजीहरूलाई एकमुष्ट र निःशुल्क सल्लाह हो यो ।