
इलाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै गर्दा इलाममा पनि चुनावी माहोल तीव्र बनेको छ ।
यसअघि सीमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेदवारहरू गत बिहिबारदेखि चुनावकाे प्रचारप्रसार खुला भएसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् । समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा भएका कारण पनि इलामको चुनाव मुलुककै चासोको विषय बनेको छ ।
दुई वटा प्रतिनिधि सभा चुनावी क्षेत्र रहेको इलाममा राजनीतिक दल र स्वतन्त्र गरी २५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । दुवै क्षेत्रमा देशका दुई ठूला नेताहरू पूर्वप्रधानमन्त्री खनाल र संविधान सभाका अध्यक्ष नेम्वाङसँग पार्टीका जिल्ला अध्यक्षहरू प्रतिस्पर्धामा छन् । विगत चुनावहरूमा एउटै पार्टीबाट निर्वाचित हुँदै आउनुभएका खनाल र नेम्वाङ नेकपा एमाले विभाजन भएसँगै यसपटक फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिनिधि सभा सदस्यको लागि इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको सातौं उम्मेदवारी हो । २०५६ सालमा नेपाली कांग्रसेका उम्मेदवार बेनुपराज प्रसाईसँग पराजित बन्नुबाहेक खनालले निरन्तर यहि क्षेत्रबाट निर्वाचन जित्दै आउनुभएको छ ।
आसन्न चुनाव आफ्नो लागि अन्तिम भएको बताउँदै आउनुभएका खनाललाई यसपटक आफ्नै पूर्वपार्टी एमालेका उम्मेदवार महेश बस्नेत चुनौती बनेर आउनुभएको छ । नेकपा एमालेमा आएको फुटपछि पहिलो चुनावको सामना गर्नुभएका खनाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ रहेपनि आफ्नो पुरानो पार्टीको संगठन र जिल्ला तहमा लोकप्रिय रहेका बस्नेतका कारण विगतमा जस्तो सहज भने छैन् । तर नेता खनाल भने चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ ।
खनालसँग प्रतिस्पर्धामा उत्रिनुभएका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत २ पटक इलाम नगरपालिकाको प्रमुख भइसक्नुभएको छ । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाएपनि हेभिवेट नेतासँग प्रतिस्पर्धा गर्नुपर्दा बस्नेतलाई पनि चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ । तर बस्नेत भने यो कुरामा सहमत देखिनुहुन्न ।
निर्वाचन क्षेत्र नम्बर १ मा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई,सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकातर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति डम्बर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
खड्कालाई गठबन्धनको साथ रहँदा नेम्वाङलाई पार्टी संगठन र व्यक्तित्वको साथ छ । खड्का प्रतिस्पर्धी भएसँगै यहि क्षेत्रबाट २०५६ सालदेखि अपराजित नेम्वाङलाई भने चुनाव जित्न सकस पर्ने देखिन्छ । पटक–पटक मुलुकको राजकीय उच्च पदमा पुगेपनि विकास निर्माणको काम नगरेको नेम्वाङप्रति यस क्षेत्रका मतदाताको असन्तुष्टिलाई क्यास गर्ने खड्काको दाउ छ । तर,सुवास नेम्वाङ भने आफ्नो जितप्रति शंका नरहेको जिकिर गर्दै आउनुभएको छ ।
एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेस सहित गठबन्धन दल लागि परेका छन् । यो पटक एमाले फुटेका कारण पनि आफूले जित्ने कांग्रेसको दावी छ । इलाम क्षेत्र नम्बर २ मा इलाम र देउमाई गरी दुई नगरपालिका र चलाचुली, माङसेबुङ, फाकफोक गाउँपालिका गरी ५ स्थानीय तह छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा गठबन्धनकातर्फबाट एकीकृत समाजवादीकी नेतृ खिनु लङवा लिम्बु र एमालेकी सोभा पराजुली चुनावी प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ (ख) मा गठबन्धनकातर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै, क्षेत्र नम्बर २ (क) मा गठबन्धनकातर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बराल चुनावी मैदानमा छन् । क्षेत्र नम्बर २ (ख) मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिस्पर्धा हुने भएको छ। दलगत उम्मेदवार बाहेक चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेदवारपनि आ–आफ्नो एजेण्डासहित मतदातामाझ गइरहेका छन् । मतदातासँग सबै जसो उम्मेदवारले इलामको विकासलाई मुख्य एजेण्डा बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्