
काठमाडौं । आसन्न चुनावी रौनकले आम नागरिकलाई उत्तिकै छोएको छ ।
नेता तथा उम्मेदवार चुनावका लागि भोट माग्दै हिँड्न थाल्दा आम मतदाता मतदान गर्न उत्साही देखिएका छन् । काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम नभएकाहरु आफ्नै थातथलोमा पुगेरै भएपनि मतदान गर्ने सुरमा देखिन्छन् ।
मंसिर ४ गते हुने चुनाव सफल पार्न सबै आ–आफ्ना क्षेत्रबाट लागेका छन् । सुरक्षा निकाय निर्वाचन क्षेत्रमा तैनाथ छ । निर्वाचन आयोग निर्वाचनको चाँजोपाजो मिलाउन दिनरात लागिरहेको छ । उम्मेद्वारहरु खलोदेखि चुल्होसम्म मत माग्न व्यस्त छन् । चिया पसल, चौतारा लगायत सार्वजनिक स्थानमा चुनावी बहसले ठाउँ पाउने गरेको छ । ६ महिनाअघि स्थानीय तहको चुनावी माहोलबाट निस्किएका नागरिकमा मत हाल्ने उत्साह छ । देशको भविष्यसँग जोडिएको चुनावमा विवेकपूर्ण मतदान नागरिकको कर्तव्य रहेको उनीहरुको तर्क छ । जो जहाँ भएपनि जन्मसिद्ध मताधिकार गर्ने प्रतिवद्धता नागरिकको छ ।
राजनीतिक दलहरुप्रति आशावादी देखिने आम मतदाता नयाँ पुस्ताप्रति आशावादी देखिन्छन् । दलकै उम्मेदवार भएपनि आफ्नो रोजाईको पहिलो प्राथमिकता युवा उम्मेदवार हुनुपर्ने अधिकांश मतदाताको अघोषित सर्त छ । किन त ? उनीहरु समयको चाप बुझ्न सक्ने क्षमता युवामा भएको तर्क गर्छन । त्यतिमात्र हैन, अघिल्लो पुस्ता प्रयोगको कसीमा उत्रन नसकेको विश्लेषण अधिकांश मतदाताको छ ।
कतिपय मतदाताले चुनावलाई उत्सवको रुपमा लिएका छन् । उनीहरुको बुझाईमा पाँच वर्षमा एक पटक आउने यो उत्सव दशैं तिहारभन्दा महत्वपूर्ण हो । राजनीतिक नेतृत्वबाट कुनै आशा नभएपनि चुनावले आफ्नो घरगाउँसँग जोड्ने अवसर दिने केहीको दृष्टिकोण छ । चुनावको बाहानामा साथीभाई भेट्ने, त्यहीबेला मतदान गर्ने मेसो केही मतदाताले मिलाएका छन् ।
त्यसो त हरेक चुनावअघि आम नागरिकमा देखिने उत्साहलाई राजनीतिक दलहरुले दुरुपयोग गर्ने गरेका छन् । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि चुनावप्रति सकारात्मक रहने नेपाली नागरिकको शैली लोकतन्त्रप्रतिको प्रगाढ समर्पण हो । त्यसैले प्रत्येक राजनीतिक दल विधिको शासन स्थापित गर्न एकलव्य भएर लाग्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्