
स्याङ्जा । स्याङ्जामा चुनावी माहोल तातिरहेका बेला किसानलाई भने चुनाव भन्दा पनि धान भित्र्याउन भ्याई-नभ्याई भएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावकाे मिति नजिकिएकाे छ । तर स्याङ्जाका किसान भने धान भित्र्याउनमा नै व्यस्त भएका छन् । उम्मेदवारहरु मत माग्न जनताको खेतबारीमा नै पुगेर जनतासँग मत मागिरहेका छन् ।

यहाँका अधिकांश स्थानमा तिहार सकिएलगत्तै धान काट्ने र थुपार्ने तथा भित्र्याउने काम चलिरहेको छ । जिल्लाको चापाकोट, गल्याङ, वालिङ, पुतलीबजार, आँधीखोल र हरिनाश लगायतका ठाउँहरू धान बढी उत्पादन हुने पकेट क्षेत्र हुन् ।
धान फल्ने ठाउँहरूमा मात्र नभएर गाउँघरका स-साना टारीहरूमा पनि किसानहरुलाई धान काट्न र भित्र्याउन भ्याई-नभ्याई भएकाे छ । आँधीखोला र ज्याग्दीखोलाका किनारमा धान फल्ने फाँटहरू रहेका छन् भने गाउँघरका टारी टुक्रामा पनि धान उत्पादन हुँदै आइरहेको छ । जिल्लामा १६ हजार हेक्टरमा धान रोपिएको थियो । करिब ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको कृषि ज्ञानेन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार साबित्री, रामधान, रामधान, सावित्री, सुनौलो सुगन्धा, सुख्खा, उन्नत जात र हाइब्रिड धान रोपिएको प्रमुख हमालले बताउनुभयो । यस वर्ष जिल्लामा ९९ प्रतिशत धान रोपिएको उहाँले बताउनुभयाे । स्याङ्जा ४० प्रतिशतमा फलफूल, २० प्रतिशत पाखो र टारीखेत भएकाे उहाँले बताउनुभयाे ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष स्याङ्जामा ५१ हजार मेट्रिक टन धान उत्पाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्