
काठमाडाैं । नेपाल बीमा समिति आज (मंगलबार) देखि औपचारिक रुपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।
मंगलबार कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरूवात गर्नुभएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । गत भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको थियो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानूनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू भएसँगै बीमा समिति प्राधिकरणमा रूपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताउनुभयो । उहाँले नयाँ बीमा ऐनले बीमा ऐन २०४९ ले पूरा गर्न नसकेको कामलाई पूरा गर्नसक्ने बताउनुभयो । अध्यक्ष सिलवालले बीमाको बजार, जोखिमको मात्रा र बीमा कारोबारका प्रवृत्तिहरु बढ्दै गएकाले अबको बीमा बजार बीमा ऐन २०४९ ले धान्ने बजार नभएको बताउनुभयो ।
उहाँले आर्थिक रुपले सुरक्षा प्रधान गर्ने बीमा भएकाले नयाँ बीमा ऐनले आर्थिक सुरक्षा गर्नको लागि धेरै नयाँ माध्यमहरु दिएको बताउनुभयो । अध्यक्ष सिलवालले सरकारलाई बीमाका विषयमा बीमा प्राधिकरणले मात्रै सल्लाह दिने गरेको बताउनुभयो । अध्यक्ष सिलवालले अब बीमा क्षेत्रको स्वायत्त निकाय प्राधिकरणबाट नै सिंगो बीमा क्षेत्रको नियमन गरिने बताउनुभयो ।
अध्यक्ष सिलवालले बीमा क्षेत्रमा धेरै समस्या रहेकाले सरकारले बीमाका समस्या समाधानका लागि सहयोग गर्ने आशा रहेको बताउनुभयो । उहाँले बीमा समितिबाट मर्जरको लागि स्वीकृत पाएका कम्पनीहरुले माघ महिनाभित्र मर्जर गर्नुपर्ने पनि बताउनुभयो । मंगलबारबाट बीमा समितिले गर्ने सबै काम कारवाहीहरु बीमा प्राधिकरणको नामबाट हुनेछ । यसअघि बीमा समितिले गरेको काम कारबाही समेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्