
काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ ।
साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात बन्दुकधारीले मस्त निद्रामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो ।
विवाहको लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका मानिसहरुमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनास्थलबाट एक दर्जन राउण्ड गोली र एउटा एम–१६ असल्ट राइफल बरामद गरेको छ ।
गोली प्रहार गरे लगत्तै फरार रहेका बन्दुकधारी समूहको खोजी कार्य जारी रहेकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्