
स्याङ्जा । नेकपा एकीकृत (समाजवादी) का रामचन्द्र भट्टराई (आरसी) ले आफ्नो उम्मेदवारी निस्कृय गर्नुभएको छ ।
आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उहाँले उम्मेदवारी निस्कृय गरेकाे बताउनुभएकाे हाे । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावका लागि स्याङ्जा २ (क) बाट उम्मेदवारी दिनुभएका भट्टराईले नेपाली कांग्रेसका भोजराज अर्याललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय गर्नुभएको हो । वाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत समाजवादीकाे लागि सोही क्षेत्र परेको थियो । तर कांग्रेसका भोजराज अर्यालको समेत सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएपछि अन्योलता छाएको थियो ।
भट्टराईले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘मेरो उम्मेदवारी रहेको क्षेत्रका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको राय र सुझाव एवं पार्टीका केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम मेरो उम्मेदवारीलाई आजैका मितिदेखि निस्कृय पारेको घोषणा गर्दछु ।’

भट्टराईले विज्ञप्तिमा गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार अर्याललाई सहयोग पुग्ने गरी उम्मेदवारी निस्कृय गरेको समाजवादीले जनाएको छ । भट्टराईको उम्मेदवारी निस्कृय भएसँगै गठबन्धन अन्तर्गत कांग्रेसका उम्मेदवार अर्याललाई सहज हुने भएको छ ।
यो क्षेत्रमा समाजवादीको राम्रो उपस्थिति समेत रहेको छ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भट्टराई जिल्लामा राम्रो पकड भएका नेताका रुपमा समेत चिनिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्