
सिन्धुली । वीर गोर्खालीहरुले अंग्रेज फौजलाई परास्त पारेको सम्झनामा स्थानीय बासिन्दाहरुको उपस्थितिमा जिल्लामा अवस्थित ऐतिहासिक सिन्धुलीगढीमा आज बिहीबार २५५ औं विजयोत्सव मनाईने भएको छ ।
जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित ऐतिहासिक विजय किल्ला सिन्धुलीगढीमा कमलामाई नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा झण्डोत्तोलन, सिन्धुलीगडीको युद्धमा रगत पसिना बगाउने सबै वीरयोद्धाहरुको सम्झनामा सलामी अर्पण लगायतका कार्यक्रम गरिने भएको हो ।
२५५ औं विजयोत्सवका अवसरमा सिन्धुलीगढीमा नेपाली साँस्कृतिक झलकहरुको प्रदर्शन तथा लोककला संस्कृतिहरुको प्रस्तुती गरिने भएको छ ।
विक्रम सम्वत १८२४ कातिक २४ गते तात्कालिन अवस्थामा भारतमा रहेको इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई गोर्खाली फौजहरुले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेकोे अबसरमा सिन्धुलीगढीमा हरेक वर्ष कार्तिक २४ गतेका दिन विजयोत्सव मनाउदै आईएको छ ।
सिन्धुलीको ऐतिहासिक पर्यटकीय स्थल सिन्धुलीगढीमा नेपाली सेनाको सहयोगमा युद्धकला संग्रालयको निर्माण गरिएपछि आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा समेत बृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्