
स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा नमूना मतदान गरिएको छ ।
निर्वाचनमा मत बदर हुन नदिने उद्देश्यले स्याङ्जा सदरमुकाममा नमूना मतदान गरिएको हो ।
स्थानीय तहको निर्वाचनमा अधिकतम बदर भएपछि जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाता शिक्षालगायत मतदान अभ्यासलाई जोड दिन नमूना मतदान गराएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले नमूना मतदान अभ्यास गरिएको निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।
उम्मेदवारले पाएका चुनाव चिन्ह बाहेकका चिन्हहरु समावेश गरी प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार सहित समानुपातिकतर्फका मतपत्रमा मतदान गरिएको थियो । नमूना मतदान अभ्यासमा ५६ मत खसेकोमा १ मत बदर भएको मरासीनीले बताउनुभयो ।
नमूना मतदान अभ्यासमा नगरपालिकाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका र सेवाग्राहीलगायतको सहभागिता थियो ।
महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचय–पत्र रुजु, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिने लगायतको सिकाई गरिएको थियो । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका ११ वटै पालिकामा नमूना मतदान अभ्यास गरिन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा कार्यक्रममा सम्बन्धित वडाका स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्याङ्जाका ९७ वडामा ९७ स्वयंसेविका खटिएका छन् ।
कार्यालयले जिल्लाका १९९ मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत छनौटको प्रक्रिया सकेर उनीहरुलाई पनि प्रशिक्षण दिने तयारी गरेको छ ।
स्याङ्जामा १ लाख १९ हजार ३१० जना पुरुष, १ लाख २४ लाख ७ सय ७८ महिला र १ अन्य गरी २ लाख ४४ हजार ८९ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्