१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप : मधेशलाई हराउँदै एपीएफ फाइनलमा


351
Shares

काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ ।

एपीएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो संस्करणको च्याम्पियन एपीएफ तेस्रो पटक फाइनलमा पुगेको हो । एपीएफ यसअघि दोस्रो र चौथो संस्करणमा फाइनलमा पुगेको थियो । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २१ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ३१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका लागि रुपेश सिंहले २३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा आउट भए ।

एपीएफका कमलसिंह ऐरीले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । अमरसिंह राउटेलाले ६ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । मौसम ढकालले ७ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दोस्रो सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल शनिबार हुने छ ।