१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


घरदैलो कार्यक्रमको असर ट्राफिक व्यवस्थापनमा


65
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत १७ सय ट्राफिक प्रहरी मध्ये १४ सय चुनावी प्रयोजनका लागि खटिँदा त्यसको असर सडकमा देखिने गरेको छ । ट्राफिक प्रहरी कम हुँदा उपत्यकामा सामान्य अवस्थामा पनि सडकमा जाम धेरै हुने गरेको छ ।

सामान्य स्थितिमा समेत जटिल बन्दै आएको काठमाडौंको ट्राफिक व्यवस्थापन चुनावी माहोलले थप सकसपूर्ण बन्न थालेको छ । चुनावका लागि थुप्रै मानिस घर फर्किए पनि सडकमा सदा जस्तो सहज अवस्था आउन सकेको छैन । दशैं, तिहार र छठलगत्तै विद्यालय र सरकारी कार्यालय खुलेपछि सडकमा यातायात साधन बाक्लिएको छ । यो नै सडक अवरुद्ध हुनुको पर्याप्त कारण भने होइन । काठमाडौं सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको ठाउँ हो । सुरक्षा संवेदनशिलता र चुनावी प्रचारप्रसारका दृष्टिले यहाँ बढी गतिविधि हुने गर्छ । उम्मेदवारको घरदैलो कार्यक्रमको असर ट्राफिक व्यवस्थापनमा देखिने गरेको छ । त्यसमाथि सडक सुचालु गराउने जनशक्ति नै कम भएपछि त्यसको असर सडकमा पर्नु स्वाभाविक भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ ।

काठमाडौंका त्रिपुरेश्वर, थापाथली, महाराजगञ्ज, चाबहिल, सिंहदरबार, नयाँबानेश्वर, कलंकीजस्ता ट्राफिक दृष्टिले संवेदनशील मानिने ठाउँमा समेत थोरै जनशक्तिले काम चलाइएको छ । थोरै रहेको जनशक्तिमा म्यादी प्रहरीको मद्दत लिएर यातायात सहज बनाउने काम भइरहेको प्रवक्ता भट्ट बताउनुहुन्छ ।

ट्राफिक प्रहरी चुनावमा खटिदा, ट्राफिक प्रहरी नभएको निहुँ बनाएर यातायात चालकले नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्यो भने त्यसले अप्रिय स्थिति ल्याउन सक्छ । त्यसैले यस अवस्थामा सवारीमा रहँदा आफू पनि बाँच्ने, अरुलाई पनि बचाउने विवेकपूर्ण निर्णय चालकबाट अपेक्षित छ ।