
काठमाडौं । मतदान कर्ममा नेपाली मतदाताको अभूतपूर्व उत्साहको सर्वत्र प्रशंसा हुने गरेको छ । पाँच वर्षमा एक पटक आउने यो अवसरलाई परदेशबाट आएर पनि उपभोग गर्ने उत्कण्ठा देखिन्छ । संघारमा चुनाव आइरहँदा घरपरिवारको खर्च जोहो गर्न विदेशिन बाध्य युवाहरु आफूले मतदान गर्न नपाएपनि विकासप्रेमी युवा उम्मेदवारलाई जिताउनुपर्ने अभिमत राख्छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भीड चुनावी सभामा भेला हुने संख्याभन्दा कम छैन । नेताहरुले समृद्धि र सुखको भाषण गरिरहँदा करिब दैनिक १५ सय नेपाली विदेशिने गरेको तथ्यांक छ । संघारमा आइसकेको चुनाव जसले देश र देशवासीको भविष्य निर्धारण गर्छ, त्यो मौका छोडेर उनीहरु विदेशिनु बाध्यता रहेको बताउँछन् । जाँदाजाँदै उनीहरु मतदातालाई विकासप्रेमी नेता छान्न आब्हान गर्छन् ।
बैदेशिक रोजगार विभागका अनुसार यो बर्ष मात्र बैशाखदेखि ६ महिनाको अवधिमा ४ लाख बढी नेपाली विदेशिएका छन् । रोजगार र अध्ययनका लागि विश्वका ९० देशमा नेपालीको बाक्लो उपस्थिति रहेको पाइन्छ । स्वदेशमै केही गर्ने वातावरण नभएकै कारण विदेशिनु आफूहरुको विवशता रहेको गुनासे युवाहरुको छ । चुनावको नाममा वर्षौंदेखि नेताहरुले झूटो आश्वासन बाँड्ने गरेको नमिठो अनुभव संगालेका केही युवाहरु भने राजनीति संग्लिएर सुशासन आउनेमा शंका गर्छन । अब नयाँ युवालाई राजनीतिमा अवसर दिनुपर्ने बताउँछन् ।
थातथलो छोडेर परदेशिने मात्र होइन, मतदानको उपयोग गर्नकै लागि विदेशबाट घरदेश आउने पनि भेटिए । उनीहरु राम्रो काम गर्नेलाई अवसर दिने बताउछन् ।
प्रतिक्रिया दिनुहोस्