
काठमाडौं । पुराना राजनीतिक पार्टी, त्यसको नेतृत्वबाट देश र जनताको समृद्धि यात्रा पूरा हुन नसक्ने निचोड निकांल्दै विभिन्न पेशामा संलग्न शिक्षित युवा पुस्ताको यो चुनावी मैदानमा बाक्लै उपस्थिति देखिन्छ । ब्रेडले नभई ब्रेनले देश बनाउने धारणा राख्ने उनीहरु कतै एक्लै भेटिन्छन त कतै चुनाव चिन्ह हातमा बोकेर मतदाता रिझाउन व्यस्त देखिन्छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ का स्वतन्त्र उम्मेदवार आर्कषण पोखरेलको चुनावी अभियानको आर्कषक खालको छ । पेशाले इन्जिनिय पोखरेल घरदैलो अभियानभन्दा आफ्नो क्षेत्रको चोक चोकमा बसेर जनताको गुनासो टिप्ने गर्नुभएको छ । त्यसो त आम निर्वाचन होस वा स्थानीय निर्वाचन विभिन्न ठूला दलका उम्मेदवारहरु तामझामका साथ चुनावी अभियानमा होमिने गरेकोमा स्वतन्त्र उम्मेदवारहरुको घरदैलो र चुनावी अभियान भने भिन्दै खालको छ ।
उनीहरु एक्लो वृहस्पति झैं बनेर चुनावी प्रचारमा होमिएको अनौठो लाग्दो छ । क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछाने दिउँसै चुनाव चिन्ह लालटिन बोकेर एक्लै दौडधूप गरेको देखिन्छ । त्यस्तै, क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईं राष्ट्रिय गानसहित जनताको मत माग्न टोल टोलमा पुग्ने गर्नुहुन्छ ।
क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार कृष्ण कुमार तामाङ नेपाल प्रहरीका पूर्व उच्च अधिकारी र हाल अधिवक्ताको काम गरिरहेका कारण अन्यायमा परेकालाई निःशुल्क कानूनी सेवाका साथ दिन चुनावी मैदानमा उत्रेको बताउनुह्न्छ ।
त्यसो त क्षेत्र नम्बर ७ का स्वतन्त्र उम्मेदवार सुमन सायमी भने परिवर्तनका लागि आफ्नो उम्मेदवारी भन्दै मत माग्न व्यस्त देखिनुहुन्छ । आफ्नो क्षेत्रको घरदैलोका क्रममा मतदाताको मन जित्ने प्रयास उहाँको छ ।
क्षेत्र नम्बर ७ कै अर्को उम्मेदवार मधु कार्की भने देशमा बाँच्न पाउने ज्याला दिउँ भन्ने नाराका साथ घरदैलो अभियानका जुट्नुभएको छ । विदेशमा अध्ययन अध्यापन सकाएर स्वदेश फर्केर देशेको सेवामा जुटेका क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार बिजय कंडेल घरदैलो अभियानमा जाँदा आफूभन्दा अग्रजहरुको आशिर्वाद लिएर मत माग्ने गरेको बताउनुहुन्छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला दलहरुलाई चुनौति दिन देशभरबाट विभिन्न पेशामा आवद्ध स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा १०, क्षेत्र नम्बर २ मा १०, क्षेत्र नम्बर ३ मा ८, क्षेत्र नम्बर ४ मा १३, क्षेत्र नम्बर ५ मा १५ , क्षेत्र नम्बर ६ मा ११, क्षेत्र नम्बर ७ मा १६, क्षेत्र नम्बर ८ मा ३, क्षेत्र नम्बर ९ मा १० र क्षेत्र नम्बर १० मा ३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारले आफ्नो अपरिहार्य दावी गरे पनि मतदाताको कसीमा को कति उत्रिन सक्छ ? त्यसका लागि चुनावी परिणाम कुर्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्