६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


धौलागिरी पदमार्गका कारण टिकोट गाउँको मुहार फेरियो


182
Shares

म्याग्दी । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ ।

म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालनमा ल्याइएको हाे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

उहाँले भन्नुभयाे,-‘पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटकहरु भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासीन्दाहरु अहिले दिनहुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख परेका छन् । गाउँमा होमस्टे (घरबास सेवा) संचालन भएका छन् । स्थानीय उत्पादनको बिक्री बढेको छ । गाउँलेको आम्दानीमा वृद्धि भएको छ ।’

पाँच वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताउनुभयो । सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल र फ्रान्स लगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।

पदमार्ग हुँदै देखिने धौलागिरी, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडा पालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले जानकारी दिनुभयो ।

पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय र स्वास्थ्य संस्था सञ्चालन पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् । एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ, मोहरेडाँडा, घोरेपानी, खोप्रालेक र नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ ।

गाउँमै सडक आउनुका साथै गाउँलेहरुलाई सडकले सुविधा भएको र घुम्न आउने पर्यटकहरु समेत पदमार्गमार्फत आवतजावत गर्ने गरेकाे स्थानीय ६१ वर्षीय गंगा पुनकाे भनाइ छ । गाउँमा यस्तो परिवर्तन आउला भनेर मैले त सपनामा पनि नसोचेकाे उहाँकाे तर्क छ ।