१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावी सभा संगीतमय बन्दै, भोट तान्न स्थानीय एजेण्डा


52
Shares

म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब ९ दिन मात्र बाँकी रहेकाे छ ।

म्याग्दीमा अहिले उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् । गाउँगाउँमा आयोजित चुनावी सभाहरु संगीतमय बन्दै गएका छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरुले भने राष्ट्रिय एजेण्डा भन्दा पनि स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उल्लेखनीय जनसहभागिता नभएपछि राजनीतिक दलले सांगीतिक कार्यक्रमहरुमार्फत माहोल बनाउने र मतदाता रिझाउन अनेकन प्रयासहरु गरिरहेका छन् ।

मतदानमा सहभागी हुने दिन नजिकैदै गर्दा वडा स्तरमा भइरहेका सभाहरुमा उम्मेदवारले मतदातालाई गीतसंगीतबाटै विश्वासमा लिने प्रयास गरिरहेका छन् । कलकारहरुको टोलीसहित उम्मेदवारहरु वडामा पुग्न थालेपछि चुनावी माहोल पनि तात्दै गएको छ । नेकपा एमाले र पाँच दलीय गठबन्धनले गीतसंगीतसँगै चुनावी अभियनलाई प्राथमिकता दिएको छ ।

भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत चुनावी सभाको माहोल बनाएको एक नेताले बताएका छन् । प्रमुख राजनीतिक दलसम्वद्ध सांस्कृतिक संगठन गीतसंगीतका माध्यमबाट स्थानीय चुनावको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन् । गठबन्धनले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ । नेकपा एमालेले भने चुनावी खर्चमै समेटेको छ ।

५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसदमा पठाउने भएकाले पनि प्रतिनिधि र प्रदेश सभा चुनावको महत्व बढी हुन्छ  । संघीयता लागू भएसँगै संघ, प्रदेश, स्थानीय सरकारका क्षेत्र, काम, कर्तव्य र अधिकार तोकिएको छ । तर चुनाव जितेपछि सांसद बनेर देशको सुशासन र विकास निर्माणको गतिलाई उचाइमा पुर्याउनुपर्ने उम्मेदवारहरूले उठाएका एजेन्डा भने स्थानीय चुनावका लागि वडा अध्यक्षले उठाउने एजेण्डा जस्ता देखिएका छन् ।

विशेषगरी संघीय कानून बनाउने, सरकारलाई सचेत, जिम्मेदवार बनाउने र केन्द्रीय बजेट निर्माण तथा संसदीय सुनुवाई लगायतमा सहभागी हुने काम प्रतिनिधि सभा सदस्यको हाे । तर प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले भने ग्रामीण सडक, आमा समूह, युवा क्लब, पर्यटन, शिक्षा, पदमार्ग, विद्युत सेवा विस्तार, सडक स्तरोन्नति र स्वास्थ्यलगायत क्षेत्रका काम गर्ने भन्दै चुनावी सभाहरुमा भाषण गर्नुका साथै घरदैलोमा पुगेर मतदाताहरुसँग भोट मागिरहेका छन् ।