
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।
आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।
आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुलाई कारवाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।
शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिनुभयो । उहाँले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारवाही प्रारम्भ गर्न निर्देशन दिनुभयो ।
उहाँले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले धेरै मतदान हुनु राम्रो भएपनि हँुदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुन सक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्ने पनि बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो ।
उहाँले मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरुको समान महत्व भएकाले सामानहरु रुजु गर्दा ठिक भए÷नभएको र पर्याप्त भए÷नभएको यकीन गर्न आग्रह गर्नुभयो । उहाँले आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि तोकिएका निर्देशनका सूचनाहरु प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनै पनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण निरीक्षण गरी मतदान कार्य प्रारम्भ गर्न पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा सबैभन्दा महत्वपूर्ण काम मतपत्रमा दस्तखत भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापरबाही नगर्न पनि अनुरोध गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा मतदाता आउने कुरामा रोकतोक हुनसक्ने कुरामा पनि सचेत रहन आग्रह गर्नुभयो । उहाँले आयोगले प्राकृतिक विपद् बाहेक अन्य कुनैपनि बहानामा मतदान कार्यलाई स्थगित गरी पुनः मतदान गर्ने कार्यलाई गम्भीर रुपमा लिएको बताउनुभयो । उहाँले कतै असमझदारी भए त्यसलाई केही समयका लागि स्थगन गरी फेरि अवस्थालाई सामान्य बनाएर मतदान कार्य प्रारम्भ गर्न आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताहरुले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराइ आयोगको निर्देशन बमोजिम कार्य अघि बढाउन निर्देशन दिनुभयो । उहाँले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्