
काठमाडौं । आसन्न्न मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन घरदैलो र सभामा व्यस्त छन् ।
निर्वाचनको यो महापर्वको सबैमा कौतुहलता छ । कसले कहाँ जित्ला आफूले मनपराएको उम्मेदवारले जित्लाकि नजित्ला सबैतिर चासो छ । मतदाताहरु उत्साहका साथ मतदानको दिन पर्खेर बसेका छन् । सबैतिर जस्तै संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा चुनावी चासो झन बढी छ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३३ निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को आम निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले ३३ मध्ये २७ सिटमा जितेको थियो भने नेपाली कांग्रेसले ५ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको थियो । तर अहिले परिस्थिति उल्टिएको छ,माओवादी र एमालेको गठबन्धन छैन् । अहिले नेपाली काँग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा ( बाम लोकतान्त्रिक गठबन्धन) लगायतको गठबन्धन रहेको छ भने एमालेले पनि राप्रपा,जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरुसँग गठबन्धन गरेको छ । निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कूल मतदाताको संख्या ३४ लाख १२ हजार ८६९ छ । जसमा पुरुष मतदाताको संख्या १७ लाख ४ हजार ८९८ रहेको छ भने महिलाको संख्या १७ लाख ७ हजार ९४२ छ । अन्य मतदाताको संख्या २९ छ ।
यस्तो छ विगत र अहिलेको अवस्था
दोलखा
एउटामात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादीको गठबन्धनबाट नेकपा एमालेका पार्वत गुरुङ ५५ हजार ४५७ मत ल्याएर निर्वाचित हुँदा गुरुङका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रुद्र बहादुर खड्कालाई २४ हजार ८१३ मत प्राप्त भएको थियो । यो पटक एमालेले गुरुङलाई टिकट नदिएर बालकृष्ण शिवाकोटीलाई टिकट दिएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट अहिले माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार हुनुहुन्छ ।
रामेछाप
रामेछापमा पनि एउटामात्रै निर्वाचन क्षेत्र रहेको छ । २०७४ मा एमाले र माओवादीबीच गठबन्धन हुँदा रामेछाप माओवादीको भागमा परेको थियो । माओवादीका श्याम कुमार श्रेष्ठले ४२ हजार ११७ मत ल्याएर विजयी बन्दा दोस्रो बन्नु भएका नेपाली काँग्रेसका पूर्ण तामाङ (कान्छाराम) लाई ३५ हजार ७७१ मत आएको थियो । एमालेले यस पटक कैलाश ढुंगेललाई उठाएको छ भने बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट कांग्रेसका तामाङले नै टिकट पाउनु भएको छ ।
सिन्धुली
दुइ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २०७४ को निर्वाचनमा भागवण्डा गर्दा एमाले र माओवादीको भागमा एक/एक क्षेत्र परेको थियो । त्यतिबेला एमाले माओवादीको गठबन्धनबाट क्षेत्र नम्बर–१ मा एमालेका गणेश कुमार पहाडीलाई ३२ हजार ५२९ मत प्राप्त भएको थियो भने निकटतम प्रतिद्वन्द्धी काँग्रेसका प्रेम चन्द्र दाहाललाई २२ हजार ३८९ मत आएको थियो । क्षेत्र नम्बर –२ भने नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । जहाँ माओवादीका हरिबोल गजुरेल ३० हजार १७९ मत ल्याएर विजयी हुनु भएको थियो भने नेपाली कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत ल्याउनु भएको थियो ।
तर अहिले सिन्धुलीमा फरक अवस्था छ । एमाले र माओवादीको गठबन्धन छैन। बाम लोकतान्त्रिक (कांग्रेस,माओवादी,एकीकृत समाजवादी र जनमोर्चा) गठबन्धनमा यो क्षेत्र काँग्रेसको भागमा परेको छ । जहाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका बौद्धिक नेताका रुपमा चिनिने श्याम घिमिरे उम्मेदवार हुनुुहुन्छ । यो क्षेत्रमा एमालेबाट पहाडीलाई नउठाएर प्रदिप कटुवाललाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै क्षेत्र नम्बर –२ माओवादीको भागमा परेको छ । माओवादीले गजुरेललाई टिकट नदिएर अहिले स्थानीय स्तरमा भिजेका राजन दाहाल (लेखनाथ) लाई टिकट दिएको छ । एमालेले मनोज जंग थापालाई उम्मेदवार बनाएको छ ।
रसुवा
एकमात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा पनि काँग्रेसका मोहन आचार्य १४ हजार ४५३ मत ल्याएर विजयी हुनुभएको थियो । दोस्रो बन्नु भएका एमालेका जनार्दन ढकाललाई १० हजार २७८ मत प्राप्त भएको थियो । अहिले भने काँग्रेसका आचार्य बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । उमालेले भने छोवाङ तेञ्जिङ लामालाई उम्मेदवार बनाएको छ ।
धादिङ
बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच भागवण्डा हुँदा दुबै क्षेत्र एमालेको भागमा परेको थियो । २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका भूमिप्रसाद त्रिपाठीले ४९ हजार १२१ मत ल्याउँदा काँग्रेसका विश्वप्रसाद अर्याललाई २१ हजार ९६८ मत प्राप्त भएको थियो । क्षेत्र नम्बर २ मा एमालेकै खेम प्रसाद लोहनी विजयी बन्दा काँग्रेसका दिलमान पाख्रिनलाई ३५ हजार ६१६ मत आएको थियो । एमालेले यस पटक पनि दुबै उम्मेदवारलाई दोहोर्याएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनमा क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे उम्मेदवार हुनुुहन्छ । त्यस्तै क्षेत्र नम्बर २ काँग्रेसको भागमा परेको छ । काँग्रेसका तर्फबाट रामनाथ अधिकारी उम्मेदवार हुनहुन्छ ।
नुवाकोट
२०७४ को निर्वाचनमा २ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमाले र माओवादीको गठबन्धनबाट एउटामा एमाले र अर्काेमा नेकपा माओवादीका उम्मेदवार विजयी बनेका थिए । क्षेत्र नम्बर –१ मा माओवादीका हित बहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी बन्नु भएको थियो भने काँग्रेसका डा. रामशरण महतलाई २७ हजार ९२० मत प्राप्त भएको थियो । त्यस्तै क्षेत्र नम्बर– २ मा एमालेका नारायण खतिवडालाई ३६ हजार ८९२ मत प्राप्त हुँदा काँग्रेसका अर्जुन नरसिंह केसीलाई २६ हजार ३३५ मत आएको थियो । यस पटक बाम लोकतान्त्रिक गठबन्धनमा पनि क्षेत्र नम्बर –१ माओवादीकै भागमा प।ेको छ । माओवादीले तामाङलाई नै दोहोर्याएको छ । उमालेले भने बद्री मैनालीलाई टिकट दिएको छ ।
त्यस्तै क्षेत्र नम्बर–२ काँग्रेसको भागमा परेको छ । काँग्रेसले पनि केसीलाई फेरि दोहोर्याएको छ भने एमालेले पनि खतिवडालाइ नै उम्मेदवार बनाएको छ ।
काठमाडौं
देशको राजधानी समेत रहेको काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । काठमाडौंबाट निर्वाचन जित्न सक्नु उम्मेदवारका लागि प्रतिष्ठाको विषय समेत रहने गरेको छ । देशको राजधानी रहेकाले सबैले यसलाई चासोका साथ हेर्ने गरेका छन् । २०७४ को निर्वाचनमा १० वटा मध्ये बाम गठबन्धन ( एमाले र माओवादी) हुँदा समेत ४ वटा क्षेत्रमा काँग्रेसका उम्मेदवारले जित हात पारेका थिए । क्षेत्र नम्बर –१ मा काँग्रेसका प्रकाशमान सिंह, क्षेत्र नम्बर ४ बाट गगन थापा,क्षेत्र नम्बर ६ बाट भीमसेनदास प्रधान र क्षेत्र नम्बर –१० बाट राजेन्द्र केसी बाम गठबन्धनका उम्मेदवारलाई हराएर विजयी बन्नु भएको थियो । क्षेत्र नम्बर –१ मा २०७४ मा कांग्रेसका सिंहले १० हजार ९३६ मत ल्याएर विजयी हुँदा तत्कालीन विबेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई १० हजार ११८ मत प्राप्त भएको थियो । बाम गठबन्धनबाट उम्मेदवार बन्ने तेस्रो भएका थिए । यस पटक काँग्रेसबाट सिंह नै उम्मेदवार हुनुहुन्छ भने मिश्र साझा पार्टी त्यागेर राप्रपाका तर्फबाट उम्मेदवार बन्नु भएको छ । एमालेले भने किरण पौडेललाई उम्मेदवार उठाएको छ । नेपाल प्रहरीका पूर्व अधिकृत रमेश खरेल लगायत यसपटक स्वतन्त्रबाट पनि धेरैले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर –२ मा २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार माधव कुमार नेपालले विजय प्राप्त गर्नु भएको थियो । त्यतिबेला नेपालले २७ हजार ३६६ मत ल्याउँदा काँग्रेसका दीपक कुइकेललाई १४ हजार ९०३ मत आएको थियो । तर अहिले परिस्थिति फेरिएको छ । नेपाल अहिले एमालेमा हुनुहुन्न उहाँ नेकपा एकीकृत समाजवादीको अध्यक्ष हुनुहुन्छ भने मंंसिर ४ को निर्वाचनमा रौतहटबाट उम्मेदवार बन्नु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेको छ माओवादीवाट पूर्व सभामुख ओनसरी घर्ती गठबन्धनको साझा उम्मेदवार हुनुुहन्छ भने एमालेले मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ । राप्रपाबाट समाजसेवी कुन्तीदेवी पोखरेल उम्मेदवार बन्नु भएको छ ।
काठमाडौ क्षेत्रनम्बर ३ मा एमालेले यस पटक पनि पूर्व सांसद कृष्ण बहादुर राईलाई नै उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट राइले १९ हजार १६९ मत ल्याएर विजयी बन्नु भएको थियो भने काँग्रेसकी अम्बिका बस्नेतलाई १४ हजार ८८४ मत आएको थियो । यस पटक बाम लोकतान्त्रिक गठबन्धनमा यो क्षेत्र काँग्रेसको भागमा परेको छ । कांग्रेसले सन्तोष चालिसेलाई टिकट दिएको छ ।
त्यस्तै क्षेत्र नम्बर –४ मा काँग्रेस र एमालेबाट पुरानै प्रतिस्पर्धी मैदानमा छन् । काँग्रेस महामन्त्री समेत रहनु भएका गगन थापा यस पटक पनि ४ बाटै उम्मेदवार बन्नु भएको छ भने एमालेका पनि राजन भट्टराई नै उम्मेदवार बन्नु भएको छ । २०७४ मा पनि थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो । एमाले र माओवादी मिल्दा समेत थापा विजयी हुनु भएको थियो । थापालाई त्यतिबेला २१ हजार ५५८ मत प्राप्त भएको थियो भने भट्टराईलाई १८ हजार १४० मत आएको थियो । क्षेत्र नम्बर ४ मा यसपटक साना पार्टी र स्वतन्त्र गरी धेरैले उम्मेदवारी दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर –५ मा पनि यसपटक एमालेबाट पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका इश्वर पोखरेलले नै टिकट पाउनु भएको छ । पोखरेललाई कांग्रेस युवा नेता प्रदीप पौडेलले चुनौती दिनु भएको छ । २०७४ मा पोखरेल बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दा २३ हजार २९ मत ल्याएर विजयी बन्नु भएको थियो भने कांग्रेसका डा. प्रकाश शरण महतलाई १३ हजार १६९ मत आएको थियो । तर अहिले अवस्था फरक छ । काँग्रेसका पौडेल बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नु भएको छ भने पोखरेलसँग पहिलेको गठबन्धन छैन ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर– ६ मा यस पटक बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत काँग्रेसको भागमा परेको छ । काँग्रेसले यहाँ पुरानै अनुहार भीमसेन दास प्रधानलाई दोहोर्याएको छ । २०७४ मा प्रधानले बाम गठबन्धनका उम्मेदवार झक्कु प्रसाद सुवेदीलाई हराउनु भएको थियो । प्रधानले १६ हजार ७८५ मत ल्याएर विजयी हुँदा सुवेदीलाई १५ हजार ४८५ मत आएको थियो ।काँग्रेसबाट प्रधान दोहोरिदा एमालेले भने पूर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर –७ मा बाम लोकतान्त्रिक गठबन्धनमा माओवादीको भागमा परेको छ । गठबन्धनले मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ भने एमालेले श्याम कुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा यो क्षेत्र एमालेको भागमा परेको थियो । एमालेका रामबीर मानन्धरले १८ हजार १०२ मत ल्याएर विजयी बन्नु भएको थियो । त्यतिबेला कांग्रेसले समेत सहयोग गरेका राप्रपाका उम्मेदवार विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याउनु भएको थियो । मानन्धरलाइ यस पटक एमालेले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ पनि उम्मेदवार हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर– ८ मा बाम लोकतान्त्रिक गठबन्धनले नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा यो क्षेत्र समाजवादीको भागमा परेको हो । २०७४ मा श्रेष्ठ नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी बन्नु भएको थियो । त्यतिबेला श्रेष्ठले १३ हजार ३९७ मत ल्याएर विजयी हुनु भएको थियो । श्रेष्ठ अहिले समाजवादीमा हुनुहुन्छ । एमालेले यो क्षेत्रमा शिव सुन्दर श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर – ९ मा एमालेले यसपटक पनि कृष्ण गोपाल श्रेष्ठलाई उठाएको छ । श्रेष्ठ २०७४ मा सोही क्षेत्रबाट कांग्रेसका ध्यान गोबिन्द रञ्जितलाई हराएर विजयी बन्नु भएको थियो । उता बाम लोकतान्त्रिक गठबन्धनले भने माओवादीकी कल्पना धमलालाई उम्मेदवार बनाएको छ ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर – १० मा काँग्रेसबाट राजेन्द्र केसी फेरि दोहोरिनु भएको छ । २०७४ र मा पनि उहाँ बाम गठबन्धनका उम्मेदवारलाई हराएर विजयी बन्नु भएको थियो । यो क्षेत्रमा माओवादीकी अञ्जना विसंखेले पनि उम्मेदवारी दिएकाले बाम लोकतान्त्रिक गठबन्धन छैन । २०७४ मा केसीले बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई २४ हजार १९० मत ल्याएर पराजित गर्नु भएको थियो । शाक्यको २१ हजार ९०७ मत आएको थियो ।
ललितपुर
ललितपुरमा ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा ३ वटै क्षेत्र बाम गठबन्धनका उम्मेदवारले जितेका थिए । २०७४ मा क्षेत्र नम्बर १ र २ एमाले र क्षेत्र नम्बर ३ माओवादीको भागमा परेको थियो । तर अहिले बाम लोतान्त्रिक गठबन्धनमा काँग्रेस, एमाले र माओवादीले एक–एक क्षेत्र भागवण्डा गरेका छन् । जस अनुसार क्षेत्र नम्बर – १ मा काँग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र ३ मा माओवादीका उम्मेदवार मैदानमा छन् ।
क्षेत्र नम्बर – १ मा बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट काँग्रेसका उदय शमशेर राणा उम्मेदवार बन्नु भएको छ । एमालेका तर्फबाट भने नवराज सिलवाल उम्मेदवार हुनुुहन्छ । यी दुबैजना २०७४ कै प्रतिस्पर्धी हुन् । २०७४ मा सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा राणालाई २० हजार ७२९ मत प्राप्त भएको थियो । २०७४ अघि भने राणाले जित्नु भएको थियो ।
यस्तै ललितपुर क्षेत्र नम्बर –२ मा बाम लोकतान्त्रिक गठबन्धनले कृष्ण लाल महर्जनलाइ साझा उम्मेदवारका रुपमा खडा गरेको छ । २०७४ मा महर्जनले एमालेका तर्फबाट चुनाव जित्नु भएको थियो । तर अहिले उहाँ नेकपा एकीकृत समाजवादीमा हुनुुहुन्छ । एमालेले यो क्षेत्रमा प्रेम बहादुर महर्जनलाई उठाएको छ ।
क्षेत्र नम्बर –३ गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रको भागमा परेको छ । जसमा उर्जामन्त्री समेत रहनु भएकी पम्फा भुषाल मैदानमा हुनुहुन्छ । २०७४ मा उहाँ सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । भुषालले २४ हजार ३६ मत ल्याउँदा काँग्रेसका मदन अमात्यलाई २२ हजार ३२८ मत प्राप्त भएको थियो । अहिले माओवादी र काँग्रेस गठबन्धनमा छन् । यो क्षेत्रमा एमालेले अमृत खड्कालाई उठाएको छ । स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की पनि उम्मेदवार हुनुहुन्छ ।
भक्तपुर
दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर– १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रेम सुवाल उम्मेदवार हुनुुहुन्छ । यो क्षेत्र सधै नेमकिपाले नै जित्दै आएको छ । त्यस्तै एमालेबाट नवराज गेलाल र गठबन्धनका तर्फबाट माओवादीका सुनिल गोठे उम्मेदवार हुनुहुन्छ । २०७४ को निर्वाचनमा पनि सुवालले जित्नु भएको थियो ।
भक्तपुर –२ मा नेकपा एमालेले पुरानै अनुहार महेश बस्नेतलाई दोहोर्याएको छ । बस्नेत २०७४मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर काँग्रेसका दमननाथ ढुंगानालाई हराएर विजयी हुनु भएको थियो । तर अहिले बस्नेतसँग गठबन्धन छैन । उता बाम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका दुर्लभ थापा उम्मेदवार हुनुहुन्छ ।
काभ्रेपलाञ्चोक
दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा बाम लोकतान्त्रिक गठबन्धनमा क्षेत्र नम्बर –१ माओवादी केन्द्रले लिएको छ । भने क्षेत्र नम्बर– २ काँग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर–१ मा माओवादीका सूर्यमान दोङ उम्मेदवार हुनुहुन्छ । यो क्षेत्र २०७४ मा एमाले र माओवादीबीच भागवण्डा गर्दा माओवादीकै भागमा परेको थियो । २०७४मा माओवादीका गंगा बहादुर तामाङले ४३ हजार ६३१ मत ल्याएर जित्नु भएको थियो । दोस्रो बनेका कांग्रेसका तीर्थ बहादुर लामालाई ३९ हजार ६०५ मत ल्याउनु भएको थियो । यो क्षेत्रमा यस पटक एमालेले रेशम बहादुर लामालाई उम्मेदवार बनाएको छ ।
उता क्षेत्र नम्बर –२ मा एमालेबाट पुरानै उम्मेदवार गोकुल बास्कोटा दोहोरिनु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनमा काँग्रेसको भागमा परेको यो क्षेत्रबाट शिव प्रसाद हुमागाइ उम्मेदवार हुनुहुन्छ । २०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धन हुँदा एमालेका बास्कोटाले ५५ हजार ५२६ मत ल्याएर जित्नु भएको थियो । त्यो बेला बास्कोटाले काँग्रेसका मधु आचार्यलाइ हराउनु भएको थियो । आचार्यले ३६ हजार ७५३ मत ल्याउनु भएको थियो ।
सिन्धुपाल्चोक
दुइवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत क्षेत्र नम्बर –१ माओवादी र क्षेत्र नम्बर –२ काँग्रेसको भागमा परेको छ । २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन हुँदा क्षेत्र नम्बर –१ माओवादी र क्षेत्र नम्बर –२ एमालेले लिएको थियो । यस पटक माओवादीले बाम लोकतान्त्रिकको साझा उम्मेदवारका रुपमा माधव प्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ । उता एमालेबाट सरेश नेपाल उम्मेदवार बन्नु भएको छ । २०७४ मा यस क्षेत्रबाट माओवादीका अग्नी सापकोटा ४० हजार ५०४ मत ल्याएर विजयी हुनु भएको थियो भने काँग्रेसका मोहन बहादुर बस्नेतलाई २९ हजार ७९८ मत प्राप्त भएको थियो ।
क्षेत्र नम्बर –२ मा नेकपा एमालेले यस पुरानै अनुहार शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । उता काँग्रेसका बस्नेत यसपाली क्षेत्र नम्बर –२ बाट उम्मेदवार बन्नु भएको छ । २०७४ को निर्वाचनमा तामाङ ३८ हजार ४०१ मत ल्याएर विजयी हुँदा काँग्रेसको समेत समर्थन प्राप्त गर्नु भएका राप्रपाका पशुपति शमशेर राणालाई ३० हजार ३६९ मत आएको थियो ।
मकवानपुर
बागमती प्रदेशको मकवानपुर जिल्लामा पनि दुइवटा प्रनिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन हुँदा दुबै क्षेत्र एमालेको भागमा परेको थियो । क्षेत्र नम्बर –१ बाट एमालेका कृष्णप्रसाद दाहाल र २ बाट विरोध खतिवडा विजयी बन्नु भएको थियो । तर अहिले अवस्था फेरिएको छ । एमालेबाट दाहालले यसपटक टिकट पाउनु भएन । एमालेले क्षेत्र नम्बर –१ मा सूर्य चिन्हबाट राप्रपा नेपालका कमल थापालाई उठाएको छ । काँग्रेसबाट भने महालक्ष्मी उपाध्याय (डीना) लाई उम्मेदवार बनाएको छ । २०७४ मा थापाले काँग्रेसको समर्थन प्राप्त गरेपनि एमाले माओवादी गठबन्धनका उम्मेदवार दाहालसँग पराजय ब्यहोर्नु परेको थियो । दाहालको ४० हजार ६३१ मत आउँदा थापालाई ३४ हजार ६५८ मत प्राप्त भएको थियो ।
उता मकवानपुर क्षेत्र नम्बर –२ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेले यो क्षेत्रबाट पूर्व विद्यार्थी नेता महेश वर्ताैलालाई उठाएको छ । २०७४ मा खतिवडा एमालेका तर्फबाट उम्मेदवार बन्दा ४६ हजार ४८१ मत ल्याएर विजयी बननु भएको थियो । दोस्रो बन्नु भएकी कांग्रेसकी महालक्ष्मी उपाध्याय ( डीना) लाई ३४ हजार ९० मत आएको थियो । अहिले खतिवडा समाजवादीबाट उम्मेदवार हुनुहुन्छ । उपाध्याय क्षेत्र नम्बर १ बाट उठ्नु भएको छ ।
चितवन
चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा एउटा क्षेत्र माओवादी र दुइवटा क्षेत्र एमालेको भागमा परेको थियो ।
अहिले बाम लोकतान्त्रिक गठबन्धनमा एउटा क्षेत्र माओवादी र दुइवटा क्षेत्र काँग्रेसको भागमा परेको छ ।यस पटक पनि क्षेत्र नम्बर –१ मा नेकपा एमालेले पुरानै अनुहार सुरेन्द्र पाण्डेलाई दोहोर्याएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका विश्वनाथ पौडेल मैदानमा हुनुहुन्छ । २०७४ मा यो क्षेत्रबाट पाण्डे ५१ हजार ८० मत ल्याएर विजयी हुनु भएको थियो । त्यतिबेला काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याउनु भएको थियो ।
क्षेत्र नम्बर –२ मा पनि एमालेले कृष्ण भक्त पोखरेललाई दोहोर्याएको छ । उता बाम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उमेश श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछाने उम्मेदवार हुनुहुन्छ । २०७४ को निर्वाचनमा एमालेका पोखरेलले ४४ हजार ६७० मत ल्याएर विजयी बन्दा काँग्रेस दोस्रो भएको थियो ।
यस्तै क्षेत्र नम्बर –३ मा बाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार हुनुहुन्छ । एमालले यो क्षेत्रमा उम्मेदवार उठाएको छैन । उसले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ । राप्रपाबाट यो क्षेत्रमा पुरानै अनुहार विक्रम पाण्डे उम्मेदवार बन्नु भएको छ ।
२०७४ मा यो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका पुष्पकमल दाहाल ४८ हजार २७६ मत ल्याएर विजयी हुनुभएको थियो । त्यसबेला काँग्रेसको समेत समर्थन पाउनु भएका राप्रपाका पाण्डेलाई ३८ हजार ९३५ मत प्राप्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्