
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिनुभएको छ ।
शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिनुभएको हो । उहाँले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताउनुभयो ।
उहाँले नेपालबाट सामन्तवाद सकिएको भएपनि नवसामन्तवादको उदय भएको बताउनुभयो । विगतमा सामन्तवाद जमिनको कुत आएर बाँचेको उल्लेख गर्दै उहाँले नवसामन्तवाद भने विकासको लागि आएको रकमको कुत खाएर बाँचेको टिप्पणी गर्नुभयो । उहाँले देशको स्थिति लथालिङ्ग भएकाले सो स्थितिलाई बदल्न परिवर्तन आवश्यक रहेको बताउनुभयो । डा. लोहनीले देशमा यही स्थिति रहीरहे अराजकता र अशान्ति बढेर जाने बताउनुभयो ।
डा. लोहनीले जनताले सत्तारुढ दलहरुलाई गरेको विश्वासको दुरुपयोग भएको बताउनुभयो । उहाँले सत्ता र शक्तिको दुरुपयोग नगर्न खबरदारी गर्दा आफूहरुलाई पश्चगामीको ट्याग लगाइएको बताउनुभयो । उहाँले संविधानको उल्लंघन गर्नु र भ्रष्टाचार गर्नु अग्रगमन हो ? भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले राज्यको हरेक निकायमा भागबन्डा गरेर नियुक्ति दिने र भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको बताउनुभयो ।
उहाँले देशमा राष्ट्रवादी र देशभक्त शक्ति आवश्यक रहेको उल्लेख गर्दै त्यो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र भएको बताउनुभयो । आफूहरुलाई जनताले संसदमा पुर्याएमा जनताको विश्वासमाथि घात नगर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्