१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


असनका मतदातामा आशा कम संशय बढी


1.3k
Shares

काठमाडौं । देशभर चुनावी माहोल तातिरहँदा काठमाडौंको प्रमुख व्यापारिक स्थल असन बजारका मतदाता भने अझै हेर र पर्खको अवस्थामा छन् । विगतमा आफूले चुनेका जनप्रतिनिधिले अपेक्षाअनुसार काम गर्न नसकेको ठम्याईमा पुगेका उनीहरु अब पनि अपेक्षा पूरा हुनेमा सन्देह राख्छन् ।

हिङदेखि हर्दीसम्म पाइने भनेर देशकै प्रख्यात असन बजारका रैथानेहरुलाई चुनावको रन्कोले त्यति छोएका देखिदैन । काठमाडौंको सांस्कृतिक सम्पदाको साक्षी बनेर बसेका उनीहरु आफूहरुले दिएको मत सदुपयोग हुन नसकेको भन्दै चिन्तित देखिन्छन् । चुनावअघि उम्मेदवारहरुले दिने आश्वासन र प्रतिवद्धताप्रति उनीहरुमा आशा कम संशय बढी देखिन्छ । पुराना भन्दा नयाँ अनुहार आए केहि परिवर्तन हुने असनका बासिन्दाहरु बताउछन् ।

चुनाव राष्ट्रिय भएपनि मतदाताका आवश्यकता र चासो स्थानीय हुन्छ । अझ असन क्षेत्रका मतदातामा काठमाडौंको परम्परागत संस्कृति, मठमन्दिर, गुठी र नेवार समुदायका चाडपर्वको संरक्षण संवद्र्धनमा चासो रहने गर्छ । चुनावअघि उम्मेदवारको संकल्प, पार्टीका घोषणापत्रप्रति असनका मतदाताको पटक्कै रुचि देखिदैन । दलका घोषणापत्र स्वयं उम्मेदवारले पढ्ने नगरेकाले त्यसको औचित्य आफ्ना लागि नरहेको विश्लेषण मतदाताको छ ।

लोकतन्त्रको विकल्प असल लोकतन्त्र हो । असन्तुष्टि थाती राखेरै भएपनि चुनाव संघारमा आइसकेको अवस्थामा मतदाताले उच्च मनोवल र विवेककासाथ मतदानमा सहभागी हुनु बुद्धिमानी ठहर्छ ।