
काभ्रे । काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिताको उपाधि बनेपाको विद्यासागर माध्यमिक विद्यालयले जितेको छ ।
नेवाः गुथि, सांस्कृतिक कवः ले पनौतीमा शुक्रबार आयोजना भएकाे कार्यक्रममा विद्यासागर विद्यालय पहिलो भएको हाे । नमोबुद्ध आवासीय मावि धुलिखेलले दोस्रो स्थान हासिल गर्दा ग्रेस ल्याण्ड विद्यालय साँगाले तेस्रो तथा सूर्योदय मावि पनौतीले सान्त्वना स्थान हासिल गरेका हुन । भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको साेही कार्यक्रममा सामुदायिक तथा निजी गरी २५ वटा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।
साेही प्रतियोगितामा सहभागी भएका विद्यालयहरु मध्ये प्रथम हुने विद्यालयले २१ हजार नगद तथा प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यस्तै, दाेस्रो हुने विद्यालयले नगद ११ हजार नगद प्राप्त गरेको छ । त्यस्तै, तेस्रो हुने विद्यालयले ५ हजार ५ सय नगद प्राप्त गरेको छ । सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यालयलाई भने २ हजार ७ सय ५० नगद उपलब्ध गराइएको हाे ।
सहभागी सबै विद्यालय र विद्यार्थीहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको कार्यक्रम संयाेजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच सोही कार्यक्रममा जनगायक भृगुराम श्रेष्ठलाई अभिनन्दन समेत गरिएको थियाे । नेपाल भाषा, साहित्य, नेवाः गीत रचना र गायन क्षेत्रमा निरन्तर योगदान पुर्याउनुभएका गायक, संगीतकार, गीतकार ९० वर्षीय भृगुराम श्रेष्ठलाई अभिनन्दन गरिएको हो । श्रेष्ठले नेपाल भाषाका धेरै लोकप्रिय गीतहरुमा स्वर तथा संगीत दिनुभएको छ ।

सोही कार्यक्रममा सहभागी भएका मानिसहरुले पनौती नगरपालिकाका वडा नम्बर ७ सहितका वडालाई नेवा सांस्कृतिक क्षेत्र घोषणा गर्न समेत माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्