
एजेन्सी । अफगानिस्तानका नागरिक विश्वको सबैभन्दा जटिल भोकमरी संकटमा रहेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ ।
अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको प्रतिवेदनले उल्लेख गरेको छ ।
एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् ।
यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै संख्या हो । प्रतिवेदनले सन् २०२२ मा तीब्र खाद्य असुरक्षा साथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दालाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले आर्थिक संकटका कारण खाद्यान्नको मूल्य बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक संकटबारे चिन्ता व्यक्त गरेको छ । चार दशक लामो द्वन्द्व, जलवायु संकट, कोभिड–१९ र सामाजिक–आर्थिक संकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरु रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्