२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बहालवालासहित पाँच पूर्वअर्थमन्त्री चुनावी प्रतिस्पर्धामा


585
Shares

काठमाडौं । नयाँ सरकार बन्ने चर्चा चलनासाथ प्रधानमन्त्रीसँगै गृहमन्त्री र अर्थमन्त्रीमा कसको पल्ला भारी भन्ने विषयले ठूलो अर्थ राख्ने गरेको छ । बिग्रिएको अर्थतन्त्र लयमा ल्याउनेदेखि लिएर जनतालाई सुशासनको अभ्यास दिने राज्यका यी दुई निकायको नेतृत्व लिने व्यक्ति राजनीतिकसँगै व्यावसायिक पनि हुनुपर्छ भन्ने मान्यता रहेको छ । बहालवालादेखि पाँच पूर्व अर्थमन्त्री यतिबेला चुनावी मैदानमा छन् ।

पाँच पूर्वअर्थमन्त्री चुनावी दौडधूपमा लागिपरेका छन् । बजेट बनाउँदा करका दरमा तलमाथिको आरोप लागेका विवादित बहालवाला अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि रुकुम पश्चिममा उम्मेदवारी दिनुभएको छ । यसअघिका दुई निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि विजयी उहाँसंग नेकपा एमालेका नन्दराम देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ । अर्का पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी हुनुहुन्छ । शर्मा र पौडेल गृहमन्त्रीसमेत भइसक्नुभएको छ ।

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएपछि पाण्डे अर्थमन्त्री हुनुभएको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँलाई यही क्षेत्रका मतदाताले वारिस बनाएर पठाए । अर्थमन्त्री हुँदा विवादमा नआएका पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । माओवादीकै पूर्वलडाकु तथा हाल एमाले पूर्ण बुढासँग उहाँको प्रतिस्पर्धा छ ।

पूर्वअर्थमन्त्री एवं बहालवाला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै हुनुहुन्छ । एमालेका जगदीश कुसियतसँग मन्त्री कार्कीको टक्कर हुने छ । चुनावी प्रतिस्पर्धाबाट पूर्वअर्थमन्त्रीहरु डा. रामशरण महत, युवराज खतिवडा, कृष्णबहादुर महरा, र महेश आचार्य भने बाहिरिनुभएको छ ।

संघ मात्र होइन, प्रदेशका ५ अर्थमन्त्रीहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको प्रदेश ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सप्तरी निर्वाचन क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा प्रतिस्पर्धी हुनुहुन्छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेल धादिङको निर्वाचन क्षेत्र नम्बर १ ख बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सुदुरपश्चिमबाट आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ क र गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएको छ ।