२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


म्याग्दीको तातोपानीमा डुबेर उपचार लिनेको भीड


1.937k
Shares

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरुको तातोपानीमा भीड लागेको छ ।

बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामीहरु रोग निको पार्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

बागलुङको बुर्तिबाङबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी शशिकला विश्वकर्माले लगातार पाँच दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको जानकारी दिनुभयो ।

अहिले कुण्डमा आउने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिक रुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ ।

बिरे नुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ । त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।