१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिनल्याण्डमा मानव तस्करी गरेको आराेपमा एक नेपाली दम्पतीलाई जेल सजाय


325
Shares

काठमाडौं । मानव तस्करीमा संलग्न भएकाे आराेपमा अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।

फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याएर मानव तस्करीमा संलग्न भएको दोषी करार गरिएको हो । उनीहरु दुवै जनालाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ । सापकोटा दम्पत्तिलाई फिनल्याण्डको पिर्कान्मा जिल्ला अदालतले जेल सजायसँगै क्षतिपूर्ति भराउने आदेश समेत दिएको छ ।

डिलारामले ३ वर्ष ८ महिना जेल सजाय पाएका छन् भने उनकी पत्नी रिमाले २ वर्ष १० महिना जेल बस्नुपर्ने भएको छ । सापकोटा दम्पत्तिले फिनल्याण्डको ट्यामपिरेमा खोलेको रेष्टुरेन्टमा नेपालबाट कामदार ल्याएर जबरजस्ती काममा लगाउने गरेको ठहर अदालतले गरेको छ । कामदारहरुलाई बिहान सबेरैदेखि राति अबेरसम्म जबरजस्ती काममा लगाउने, उनीहरुलाई सातामा एकदिन पनि विदा नदिने र उल्टै कामदारबाटै जबरजस्ती हजारौं युरो रकम आफू -आफन्तका नाममा ट्रान्सफर गर्न लगाएको अदालतले ठहर गरेकाे छ ।

अदालतले यि दम्पत्तिलाई ६ जना नेपाली कामदारलाई पीडा दिएकोमा सजाय सुनाइएको छ । जसमध्ये अदालतले ४ जनाको मानव तस्करी गरेको, एक जनाबाट जबरजस्ती असुली गरेको र अर्कोलाई रोजगारीमा विभेद गरेको प्रमाणित गरेको हो ।