
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताउनुभएको छ ।
उहाँले आज (आइतबार) थापाथलीस्थित सुकुम्बासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँ सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत हुनुहुन्छ ।
सुकुम्बासी बस्ती हटाउन अमानवीय रुपमा जबरजस्ती गर्नुनहुने उहाँले बताउनुभयो । उहाँले सरकारले सुकुम्बासीहरुको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको समेत उल्लेख गर्नुभयाे । आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति र कार्यक्रम लागू गराउन आफू प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।
नेता सिंहले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकार र सुकुम्बासीहरु दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आवश्यक कानूनको सुधार तथा परिमार्जन गरिने बताउनुभयो ।
उहाँले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउनका लागि जोड दिइने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्