२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउदै


91
Shares

नवलपरासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हाे । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका डिएसपी केशव राज थापाले जानकारी दिनुभयाे। भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ किलाेमिटर लामो रहेकाे छ ।

अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ । २६ नंं. हेडक्वाटर मातहतमा ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेकाे डिएसपी थापाले बताउनुभयाे ।

निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाई अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक समेत बसेको थियो । बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैध रुपमा ल्याउँदै गरेका सामान समेत धमाधम बरामद हुन थालेको छ ।

बरामद भएका समानमा चिनी, कपडा, मोबाइल र इलोक्ट्रोनिक लगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।