१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन प्रचारमा हेलिकप्टरको प्रयोगमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्छ : थपलिया


130
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उहाँले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको हो । उहाँले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराउनुभयो । उहाँले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहीता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताउनुभयो । उहाँले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहीता विपरितका गतिविधि रोक्न आयोग लागिपरेको बताउनुभयो । उहाँले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौति आयोगलाई रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लाहरुमा आचारसंहीता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याँइ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पलना गर्न जिल्ला निर्वाचन आचारसंहीता कार्यान्वयन समितिलाई निर्देशन दिनुभयो । उहाँले आचारसंहिता उल्लंघन गर्नेमाथि अनुनय गर्ने नभइ कारबाहीको प्रक्रियामा अघि बढ्न पनि निर्देशन दिनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गरेको भनि आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएका व्यक्तिहरुलाई जवाफसहितको फेहरिस्त मागेर कारबाही गर्नपर्ने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको कारणबाट निर्वाचन महंगो नभएको जिकिरसमेत गर्नुभयो ।