
काठमाडौं । तपाई कतै सवारी साधनमा सवार पो हुनुहुन्छ कि ? व्यस्त सडकमा बाटो पो काट्दै हुनुहुन्छ कि ? यदि त्यसो हो भने विशेष होशियारी गर्नुपर्ने बेला आएको छ । देशैभरका अधिकांश ट्राफिक प्रहरी चुनावमा खटिंदा ट्राफिक व्यवस्थापन फितलो बनेको महशुस गरिएको छ । मुख्य सडकका व्यस्त चोकमा समेत यति बेला म्यादी प्रहरीका भरमा छोडिएका छन् ।
चुनावी सुरक्षाका लागि भर्ती गरिएका म्यादी प्रहरी यति बेला काठमाडौंको चोक गल्लीमा सवारी साधन व्यवस्थापनमा व्यस्त देखिन्छन् । त्यसै पनि बाक्लो सवारीका कारण जोखिमपूर्ण बन्दै आएको यहाँको यातायात चुनाव गराउने नाममा म्यादी प्रहरीलाई जिम्मा लगाउने काम गैर-जिम्मेवार रहेको टिप्पणी आम सडक उपभोक्ताले गरेका छन् । आँखा झिम्क्याउँदा दर्जनौंको ज्यान तलमाथि हुने जोखिमपूर्ण ठाउँको जिम्मेवारी कुनै सीप र तालिम बिनाको जनशक्तिलाई दिएकोप्रति आवाज उठेको हो ।
यतिमात्र हैन जनशक्ति अभावको कारण देखाएर सडकमा प्रहरीका सम्पूर्ण चेकजाँच स्थगित गरिएको छ । वर्षौ सवारी व्यवस्थापनमा खटिदै आएको ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मेहम्मे पर्ने गरेका देखेका उपभोक्ताहरु म्यादी प्रहरीलाई सडकमा उतारिनु उचित नहुने बताउँछन् । सामान्य अवस्थामा अहिले रहेको ट्राफिक प्रहरी संख्या कामको दबाबका आधारमा एकदमै न्यून मानिदै आएको छ ।
त्यसमाथि १७ सय जनशक्ति लागेर गर्दै आएको काम ३ सयले धान्नु पर्दा ट्राफिक व्यवस्थापन कमजोर देखिनु स्वाभाविकै हो। ट्राफिक प्रहरी भने नेपाल प्रहरी र म्यादी प्रहरीको उपस्थितिलाई स्वाभाविक मान्छ । उनीहरुलाई आवश्यक प्रशिक्षण दिएर सहयोगीका रुपमा खटाइएको र त्यसले कुनै जोखिम ननिम्त्याउने काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टकाे तर्क छ ।
यस्तो परिस्थितिमा सवारी व्यवस्थापनतर्फ ट्राफिक प्रहरीको मात्र मुख ताक्नु भन्दा स्वयम सवारी चालक जिम्मेवार हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्