१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काभ्रे क्षेत्र नं २ मा कसले मार्ला बाजी ?


2.912k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन केही दिन बाँकी रहदा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । ५ स्वतन्त्र सहित १६ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा घरदैलो अभियान भइरहँदा मुख्य प्रतिस्पर्धीको रुपमा नेकपा (एमाले) का गोकुलप्रसाद बाँस्कोटा र सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँबीच टक्कर हुने अनुमान गरिएको छ ।

दुवै उम्मेदवार मतदाता आकर्षित गर्न आआफ्ना एजेण्डा जोडतोडकासाथ उठाइरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका बाँस्कोटा ईमेज खबरसँगकाे कुराकानीमा आफनो जित सुनिश्चित भएकाेले चुनावी मैदानमा होमिएकाे बताए ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले पनि घर घरमा गई मतदाताको मन जित्ने प्रयास जारी राख्नु भएको छ । अधिकांश उम्मेदवारले झैं उहाँले पनि विकासलाई मत माग्ने एजेण्डा बनाउनु भएको छ ।

२०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुमागाई संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा उहाँ निष्क्रिय बस्नुभएको थियो । हुमागाईँ र बाँस्कोटा दुवैलाई जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइन्छ । २०७० को संविधानसभा सदस्यमा कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा कांग्रेसका मधुप्रसाद आचार्यलाई २२ हजार मतान्तरले हराउनु भएको थियो । उहाँले घरदैलो अभियान गरिरहदा आम मतदाताको मन जितिसकेको दावी गर्नुभयो ।

काभेपलाञ्चोकमा प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाता बीच छ ।

काभ्रेपलाञ्चोकमा ६ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो ।