१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी


936
Shares

काठमाडाैं । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताउनुभएको छ ।

मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक भविष्य समेत समाप्त हुने जिकिर गर्नुभयो । उहाँले आफू जीवनको अन्तिम पटक चुनाव लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताउनुभयो । अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा चुनावी क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताउनुभयो ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताउनुभयो । चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिडेको आरोप लगाउँदै उहाँले आचारसंहिता उल्लंघन भएको बताउनुभयो । प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दावी गर्नुभयो । उहाँले जनताहरुले चौधरीलाई पाहुनाको रुपमा मात्र चिनेको भन्दै चुनाव नजित्ने दावी समेत गर्नुभयो ।

त्यस्तै नेकपा एमालेकी नेतृ एवं पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने दावी गर्नुभयो । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।