
काठमाडौं । पुस १७ गतेदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मंसिर २ गतेबाट क्यालिब्रेसन उडान हुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म विमानस्थलको क्यालिब्रेसन उडानको अनुमति दिएको हो ।
उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्नेछ । एरोथाईले क्यालिब्रेसन उडान सकेपछि प्रतिवेदन दिने छ । त्यसपछि परीक्षण उडान र व्यवसायिक उडानका लागि बाटो खुला हुने छ ।
मंगलबार बैंककबाट ढाका हुँदै नेपाल आउने एरोथाईको विमान २४ दिन नेपालमा रहेर मंसिर १९ गते मात्रै स्वदेश फर्किने छ । देशभरका विमानस्थलको हरेक वर्ष गर्नुपर्ने नियमित क्यालिब्रेसन उडानका लागि आउदै गरेको एरोथाईलाई प्राधिकरणले पोखराको पनि जिम्मा दिएको हो ।
यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्