
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको सम्पूर्ण ध्यान विकास र समृद्धि तर्फ केन्द्रित हुने बताउनुभएको छ ।
बुधबार गठबन्धनद्धारा ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै दाहालले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक बाम गठबन्धन बनेको दावी गर्नुभयो ।
दिगो विकास, स्थायी शान्ति र समृद्धि सँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मुल दायित्व रहेकाले सोहि अनुरुप अघि बढ्ने उहाँले बताउनुभयो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको दावी गर्दै उहाँले निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने र मुलुकलाई समृद्धि तर्फ अघि बढाउनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको भन्दै उहाँले अब दृढ संकल्प सहित गठबन्धन अघि बढेको बताउनुभयो ।
आगामी मंसिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सहि बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो । यता देशैभर गठबन्धनको लहर देखेर एमाले अध्यक्ष केपी शर्मा बरबराउने थालेको आरोप समेत लगाउनुभयो । जनताले दिएको मतलाई ओलीले कदर गर्न नसकेको स्पष्ट पार्दै उहाँले अब ओलीलाई नैतिक रुपले मत माग्ने अधिकार नरहेको पनि बताउनुभयो ।
दुई तिहाईको सरकार विघटन गरेर संविधान मिच्ने काम ओलीबाटै भएको भन्दै उहाँले अब फेरी जनतामा गएर उहाँलाई मत माग्न नैतिक रुपले पनि अपठ्यारो पर्ने उहाँको जिकिर थियो ।
यता नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनको बिजयले मात्र देशको भविष्य सुरक्षित हुने बताउनुभयो । देशलाई संकट पर्दा बनेको गठबन्धन भित्र सम्पुर्ण तालमेल रहेको र देशलाई समृद्धि तर्फ अघि बढाउने तागत रहेकाले आउने निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने विस्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्