१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या न्यून


182
Shares

काठमाडौं । निर्वाचन आयोगको मतदाता विवरणअनुसार झण्डै ५० प्रतिशत महिला मतदाता छन् । तर आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा महिलाको उपस्थिति प्रत्यक्ष तर्फ निकै कम छ । हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने प्रतिवद्धतासहित संविधानमै लिखित प्रतिज्ञा गरेका उनीहरु टिकट दिन भने चुकेका छन् ।

वि.स. २०४८ साल यता भएका हरेक संसदीय चुनावमा दलहरुले प्रत्यक्ष तर्फ महिलालाई ५ देखि १० प्रतिशतसम्मको सीटमा सीमित गरेका छन् । जनसंख्याको हिसाबले महिला र पुरुषको संख्या लगभग उस्तै, भएपनि दलहरुले महिलालाई प्रत्यक्ष तर्फ निकै कम संख्यामा उम्मेदवार बनाउँछन् ।

हरेक समयमा ५० प्रतिशत महिला प्रतिनिधित्वको माग गरिएपनि प्रत्यक्ष चुनाव लड्न योग्य महिलालाई दलहरुले टिकट नदिएर समानुपातिक प्रतिनिधित्वमार्फत ३३ प्रतिशतको मापदण्ड पूरा गरेका छन् । देशका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नै छैनन् । प्रत्यक्षतर्फ १ सय ६५ सिटमा ९१ जना उम्मेदवार उठाएको नेपाली कांग्रेसले जम्मा पाँच जनालाई मात्र उम्मेदवार बनाएको छ ।

जुन ५ दशमलब ४९ प्रतिशत हो । त्यस्तै १ सय ४१ क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले ११ जना अर्थात ७ दशमलव ८० प्रतिशत महिला प्रतिनिधिलाई टिकट दिएको छ । यता, ४६ क्षेत्रबाट उम्मेदवार उठाएको माओवादी केन्द्रबाट आठ जना अर्थात १७ दशमलव ३९ प्रतिशत महिला उम्मेदवार रहेका छन् । एकीकृत समाजवादी पार्टीले १९ जना उम्मेदवार मध्ये एक मात्र महिला उम्मेदवारलाई प्रत्यक्ष चुनावका लागि उपयुक्त ठानेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीले ५१ उम्मेदवार मध्ये तीन, नेपाल मजदुर किसान पार्टीले एक सय नौँ मध्ये १२ महिला उम्मेदवार उठाएको छ । राप्रपाले देशभरबाट उठाएका एक सय ३२ जना प्रत्यक्ष उम्मेदवार मध्ये ३२ र स्वतन्त्रतर्फ आठ सय ६७ उम्मेदवार मध्ये ७७ जना महिला रहेका छन् ।

विगतका निर्वाचनमाहरुमा पनि महिला उम्मेदवारको संख्या झिनो रहँदै आएको थियो । नयाँ संविधानमा समानुपातिकतर्फको एक सय १० सहित दुई सय ७५ सिट कायम गरिएको थियो । वि.स. २०७४ मा भएको निर्वाचनमा एक सय ६५ प्रत्यक्ष सिटमा एक हजार नौं सय ४४ उम्मेदवार मध्ये एक सय ४६ महिला उम्मेदवार थिए  । जुन कूल उम्मेदवारको ७ दशमलब ५१ प्रतिशत हो ।

निर्वाचनमा ३८ महिलाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो कूल उम्मेदवारको १ दशमलब ९५ प्रतिशत हो । गत निर्वाचनमा कूल एक सय ६५ सिटमा जम्मा ६ जनाले मात्र प्रतिनिधि सभामा निर्वाचित भएका थिए । जुन ३ दशमलब ६३ प्रतिशत मात्रै हो ।

संख्यामा हेर्ने हो भने २०४८ देखि २०७९ सालसम्म आइपुग्दा प्रतिनिधि सभाको खुला प्रतिस्पर्धामा महिलाको आकर्षण छ  । तर, ठूला दलले न्यून संख्यामा उम्मेदवार बनाएका छन् भने विजयी हुने महिला संख्या पनि न्यून छ ।