१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जित्ने माहोल बनेको छ : मन्त्री भुसाल


637
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको हो ।

बिहीबार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धीमा घरदैलोपछि कुराकानी गर्दै उहाँले विगतमा आफूले सुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताउनुभयो । उहाँले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।

उहाँले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ लाई नमूना क्षेत्रको रुपमा अगाडि बढाउने बताउनुभयो ।

उहाँले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताउनुभयो । आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उहाँको भनाइ छ । मतदाताहरु पनि आफूप्रति सकारात्मक भएको उहाँले बताउनुभयो ।

मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडी रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दावी गर्नुभयो ।