
काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ ।
नियोकले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । नियोकमा महासचिव देवीकानन्द तिमिल्सिनाले तराईका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलहरुबीच झडप, दलका नेता र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको उल्लंघन र प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग गर्नुका साथै निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको बताउनुभयो ।
उहाँले नियोकले असोज अन्तिम साताबाट नै निर्वाचन पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ वटै जिल्लामा ७७ तालिमप्राप्त दीर्घकालीन पर्यवेक्षकहरु खटाएको बताउनु भयो । महासचिव तिमिल्सिनाले पर्यवेक्षकहरुले निर्वाचन आयोगको तयारी, मतदाता रिपोर्टिङ प्रणाली प्रयोग गरी आफ्नो आफ्नो जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको बताउनुभयो । उहाँले नियोकले निर्वाचनको दिन र स्थिर समयको दिन सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न ७ प्रदेश र ७७ वटै जिल्लामा करिव २ हजार छोटो अवधिका पर्यवेक्षकहरु परिचालन गर्ने बताउनुभयो ।
नियोकले आस्न्न निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत रुपमा सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्