
काठमाडौं । निर्वाचनको मिति नजिकिंदै जाँदा आम मतदाता तथा उम्मेदवारमा मत परिणामको खुल्दुली हुने गर्छ । स्थानीय निकायको चुनावमा मत परिणाम सुन्न हप्तौंसम्म कुर्नुपरेको विगत भोगेका आम मतदाता यसपटक भने छिटो छरितोसँग मत परिणाम सुन्न व्यग्र छन् । निर्वाचन आयोग मत गणना छिटो गर्न सम्पूर्ण स्रोत साधनको उपयोग गरिने प्रतिवद्धता व्यक्त गर्दछ ।
निर्वाचन आयागले सुगम स्थानमा मतदान सकिएको साँझ देखिनै मत गणना गर्ने जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनको जस्तो अवस्था नआउनेमा आयोगले आम मतदातालाई अस्वस्त गराएको छ । स्थानीय तहमा एउटै मतपत्र गन्न दुईदेखि २० मिनेटसम्मको समय लागेकोले ढिलो भएको आयोगले जनाएको थियो । तर प्रतिनिधि तथा प्रदेशसभाको मतपत्रमा धेरै ठूलो नभएकोले मत गणना झन्झटिलो नहुने र परिणाम पनि छिटो आउनेमा आयोग विश्वस्त छ । स्थानीय तहको जस्तो मत परिणाम प्राप्त गर्न त्यति ढीलो नहुने छिटो प्राप्त हुने निर्वाचन आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्याल बताउनुहुन्छ । उहाँले कुनै प्रकारको विवाद भएन भने एक देखि डेढ दिनभित्र परिणाम आउने बताउनुभयो ।
प्रतिनिधि तथा प्रदेशसभाको मत एकै पटक गणना गरे पनि सुरुमा प्रतिनिधि सभा तर्फको मत परिणाम प्रकाशित गर्ने आयोगको तयारी छ । मतदाता तथा उम्मेदवारलाई प्रदेशभन्दा प्रतिनिधिसभातर्फ मतको बढी चासो हुने भएकोले आयोगले सुरुमा प्रतिनिधि सभातर्फको मत परिणाम प्रकाशित गर्ने छ । त्यस्तै, दोस्रोमा प्रदेशसभाको मत परिणाम र त्यसपछि समानुपातिक तर्फको मत परिणाम प्रकाशित गर्ने जनाइएको छ ।
पछिल्ला केही वर्षयता निर्वाचन नजिकिँदै जाँदा नेपालमा विद्युतीय मतदान यन्त्रको प्रयोगबारे चर्चा हुने गरेको छ । तर आम रूपमा भने यसको प्रयोग हालसम्म हुन सकेको छैन । नेपालको निर्वाचन निकै महँगो हुँदै गएकोले उक्त यन्त्रको प्रयोगले समय र लागत दुबै घटाउन सक्ने अनुभव सबैलाई भएपनि राजनीतिक ईच्छाशक्तिका कारण सफल हुन सकेको छैन ।
मतदानमा स्वच्छ, निष्पक्ष तथा छिटो र मत गणनामा समयनै नलाग्ने भएपनि विद्युतीय मतदानमा कसैको चासो नदेखिनु आफैंमा उदेकलाग्दो हो ।
प्रतिक्रिया दिनुहोस्