१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विकास र सुशासनप्रति आम मतदाताको चासो


26
Shares

काठमाडौं । सिंगो मुलुक चुनावमा होमिएको छ । चुनावको संघारमा विदेशिनेले विमानस्थल घुइँचो देखिन्छ भने आउने जाने यात्रुले गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल छ । चालक हुन या सहचालक, यात्रु हुन या स्थानीय सबैमा मतदान गर्नुपर्ने चेत छ । मतदाता ओसार्ने बस चालक, वैदेशिक रोजगारबाट आएका युवा सबै नागरिक अधिकार उपयोग गर्ने प्रतिवद्धता जनाउँछन् ।

बाटो राम्रो छैन ट्राफिक प्रहरीले बाटोमा ठाउँ ठाउँमा रोक्छ र ट्राफिक प्रहरीलेनै घुस खाने गरेको सहचालक अभिषेक महतो बताउनुहुन्छ । अब भ्रष्टाचाररहित समाज बनाउन सक्ने उम्मेदवारको जित होस् भन्ने महतोको कामना छ । यात्रुलाई गन्तव्य पुर्‍याउने कर्ममा लागेका महतो देशमा विकास र सुशासनको अवस्था कस्तो छ भन्ने यथार्थ प्रकट गर्छन् । जोसुकै जितेपनि बाटोघाटो र सुशासन पहिलो प्राथमिकतामा पर्नुपर्ने धेरैको आवाज छ ।

दानमा सबैभन्दा महत्वपूर्ण दान मतदान भन्ने बुझेका मजदुरहरु विवेकपूर्ण मतदान नगर्दा गलत मानिसले चुनाव जित्ने खतरा रहने बताउँछन । यात्रुलाई एउटा भूगोलबाट अर्को भूगोलमा लैजाने चालकहरु त्यो दिन काम छोडेरै भएपनि मतदान गर्ने प्रण बसका चालक बिमल लामिछाने बताउछन् । त्यस्तै, अर्का चालक द्रोण बस्नेत पनि सक्षम र घुस नखाने व्यक्तिलाई भोट दिने बताउनुहुन्छ ।

चुनावकै मुखमा विदेशबाट स्वदेश र्फकेका कपिलवस्तुका गोपाल कुँवर पुराना पुस्तालाई विश्राम दिनुपर्ने बताउनुहुन्छ । त्यस्तै, चुनावको मुखमा स्वदेश र्फकेका अर्का युवा खेमबहादुर गमाल पनि नयाँ पुस्तालाई जिताउनुपर्ने बताउनुहुन्छ ।

एकथरी युवापुस्ता भने आफ्नो मताधिकार प्रयोग गरी अबको प्रतिनिधि छान्न जिम्मेवार हुनुपर्ने बताउँछन् ।

चुनावकै मुखमा ३ बर्षपछि मलेसियाबाट स्वदेश फर्किएका युवा मतदाताहरु अघिल्लो पुस्तालाई विश्राम दिनुपर्ने सम्मको आवाज उठाउँछन् । त्यसैले विवेकपूर्ण मतदान गरेर नयाँलाई छनोट गर्नुपर्ने धारणा उनीहरुको छ ।

चुनावका बेला अनेक बाचा गर्ने जितेर गएपछि फर्केर नआउने जनप्रतिनिधिबाट वाक्क भएका आम मतदाता अब भने सक्षम, इमान्दार र विकासप्रेमी नेतृत्वको पक्षमा देखिन्छन् ।