२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक : अध्यक्ष दाहाल


2.106k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाई थियो । बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मंसीर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहोर्‍याउनु भयो ।

अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताउनुभयो । ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उहाँको गम्भिर आरोप थियो ।

अध्यक्ष दाहालले मंसीर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सत्तारुढ दलहरु प्रतिगामी शक्तिहरुलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।