
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ को दर्मिजा गाउँ बसाइँसराईका कारण रित्तिदै गएको छ ।
मगर समुदायको बाहुल्यता भएकाे साेही गाउँ पछिल्लो समय बसाइँसराईका कारणले उजाडिदै गएको हो । १ सय भन्दा बढी घरहरु मध्ये दर्जन बढी घरका ढोकामा ताल्चा लागेको छ । घरहरु भत्किन थालेका छन् भने आँगन-पिढी र आँगनमा झाडी मौलाएको छ ।

खेतबारीमा समेत बनमाराले ढाकेको छ । दर्मिजा गाउँ मात्रै होइन म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी र सेवा सुविधाका लागि ठूला शहरतर्फ बसाइँसराई गर्नेको संख्या दिनप्रति दिन बढिरहेको छ । अधिकार सम्पन्न स्थानीय तहहरुले गाउँमा सुविधा र विकासको गति बढाए पनि मानिसहरु भने गाउँ छाडेर हिड्ने क्रम बढेको बढ्यै छ ।
उच्च शिक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले शहर बजार झर्नेको संख्या नरोकिएकाले ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धिदर पनि ऋणात्मक हुन थालेको रघुगंगा गाउँपालिका–४ का वडा सदस्य धनबहादुर गर्बुजाले बताउनुभयो । वि.स. २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ ।
ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्