
काठमाडाैं । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार-प्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ । स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ । दलका नेता, कार्यकर्ता घरबाहिर देखिएका छैनन् ।
स्थिर समय लागू भएसँगै राजनीतिक गतिविधिमा शून्यता देखिएको छ । मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो । यसअघिका निर्वाचनमा भने मतदानको अघिल्लो ४८ घण्टाअघिदेखिको समयलाई मौन अवधि भनिन्थ्यो । आयोगले यसपटक नयाँ शब्दावलीको प्रयोग गरेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहितामा उल्लेख गरिएको छ । यसैगरी, मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।
यो व्यवस्था भने सबैतिर लागू नभएको देखिन्छ । गत रातिदेखि मात्र स्थिर सयम लागू भएकाले आयोगले यो व्यवस्था पनि आजदेखि नै लागू भएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्