२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्याग्दीमा खेतीयोग्य जमिन बाँझै


338
Shares

म्याग्दी । लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेहरुको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ ।

भएका युवाहरु पनि विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव भएपछि खेती योग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । युुवाहरु विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।

जिल्लाको बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको कृषि प्राविधिकहरुले बताएका छन् ।

ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ । शिक्षित वर्ग र पुँजी भएकाहरु शहर झरेका छन भने रोजगारका लागि विदेशिएका परिवारहरु पनि सुविधा खोज्दै शहरमा बसाई गर्न थालेपछि गाउँका घरहरुमा बुढाबुढी मात्रै देखिन्छन ।

वर्षौ देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घरहरु जीर्ण भै भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुननिर्माण नगरी शहरबजारमा डेरामा बस्न थालेका छन् ।

भूकम्पपछि गाउँबाट शहर झर्ने क्रम बढेसँगै खेती योग्य जमिनलाई घडेरीका रुपमा वेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुने क्रम उत्तीकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर पचास थान भन्दा बढि जग्गा किनवेच हुने गरेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले बताउनुभयो ।