
काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दावी गरेको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले भयरहित रुपमा मतदान सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिनुभयो । उहाँले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिनुभयो ।
कुनै पनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्न सक्नेगरी व्यवस्था गरेको सचिव सिंहले बताउनुभयो । उहाँले हवाई गस्तीका लागि नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाउनुभयो ।
गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्