
काठमाडाैं । निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको पाइएको छ । आज काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो ।
समितिले निर्वाचन पूर्व कुनैपनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ । निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको ठहर समितिको छ ।
समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली, उम्मेद्वार दर्ता, निर्वाचन आचारसंहिता पालना, सुरक्षा प्रबन्ध, मतपत्र, मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएकोसमेत प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताउनु भयो । कार्कीले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा उम्मेद्वार र पार्टी सजग देखिएको बताउनुभयो ।
कार्कीले स्थानीय तहको निर्वाचनको अनुभवले जनता धेरै अनुशासित रहेको भन्दै निर्वाचनमा प्रजातन्त्रको परिपालना भएको देखिएको बताउनु भयो । उहाँले पैसाको चलखेल हुने भनिएपनि अहिले देखिने गरी कतै पनि त्यस्तो गतिविधि नपाएको बताउनु भयो ।
त्यस्तै,पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताउनुभयो । उहाँले राजनीतिक पार्टीका उम्मेद्वारहरुले निर्वाचन आंचारसंहीता अनुसार मौन अवधिको राम्रो परिपालना गरेको देखिएको बताउनु भयो ।
यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको देखिएको बताउनु भयो ।
पोखरेलले समय अनुसार नयाँ नयाँ चुनौतीहरु थपिँदै गएको भन्दै निर्वाचनसम्बन्धी अफवाह फैलाउनसक्ने सामाजिक सञ्जालको दुरुपयोगलाई भने नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्