६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


म्याग्दीमा गाउँमा भीड, सदरमुकाम सुनसान


52
Shares

म्याग्दी । आइतबार हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि शहरबाट गाउँ फर्किने मानिसहरुको भीड लागेकाे छ ।

जसका कारण यातायातका साधनहरुमा यात्रुकाे चाप लागेकाे हाे । म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासीन्दाहरु निर्वाचनका लागि गाउँ फर्केपछि सदरमुकाम बेनीबजार भने सुनसान बनेको छ । बेनी बजारमै अध्ययन, व्यवसाय तथा राेजगारीका लागि बस्ने मानिसहरू आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । साथै राजधानी काठमाडौं तथा देशका अन्य ठाउँहरुबाट म्याग्देलीहरु पनि भोट हाल्नका लागि गाउँ फकिएपछि गाउँहरु भरि भराउ भएका छन् ।

जसका कारण बेनीको बसपार्कमा यात्रुहरूको निकै भीड भाड हुने गरेको छ । शुक्रबार बिहानै जहान परिवारसहित सदरमुकाम बेनीबाट मालिका गाउँपालिका-५ मा पर्ने देविस्थान जान लाग्नुभएका शेरबहादुर बुढाले गाउँबाट आफन्तहरुले फोन गरेर निर्वाचन आयो आउनुपर्यो भनेर बारम्बार बोलाएपछि जान लागेको बताउनुभयाे ।

आफन्तहरु भेट भएर आफूलाई मनले खाएको उम्मेदवार र पार्टीलाई मतदान गर्ने सरसल्लाह भइरहेको बेनी नगरपालिका–२ का स्थानीयबासी नारायण सापकोटाले बताउनुभयाे । उहाँले निर्वाचन ५ वर्षमा आउने ठूलो पर्व जस्तै भएको बताउनुभएकाे छ। प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा ३ पदका लागि १९ जना चुनावी मैदानमा रहेका छन् ।प्रतिनिधि सभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेश सभा क्षेत्र (क) र (ख) मा ५-५ जना उम्मेदवार रहेका छन् ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र १ सय १९ वटा मतदान केन्द्र रहेका छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेश सभा क्षेत्र (क) मा ४८ हजार ४ सय ७२, मंगला, मालिका र धाैलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६ सय ४८ जना मतदाता रहेका छन् ।

म्याग्दीमा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ ।