
म्याग्दी । आइतबार हुने निर्वाचनका लागि मतदान गराउन हिडेका कर्मचारी तथा सुरक्षाकर्मी हिउँ छिचोल्दै मुस्ताङ मतदानस्थलमा पुगेका छन् ।
मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिडेका कर्मचारी र सुरक्षाकर्मी बाख्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए । शुक्रबार जिल्ला सदरमुकाम जोमसोमबाट डोजरसहित सुरक्षाकर्मी पुगेर बाटोको हिउँ पन्छ्याएपछि कर्मचारीहरु मतदानस्थल पुगेका हुन् । उक्त मतदानस्थलमा शालिकराम रेग्मी मतदान अधिकृत रहनुभएकाे छ ।

मुस्ताङ–डोल्पा जाने बाटोमा करिब १ किलोमिटर क्षेत्रको बाक्लो हिउँ डोजरले पन्छ्याएर निर्वाचनमा खटिएका कर्मचारीलाई मतदानस्थलमै पुर्याएर फर्केकाे जिल्ला प्रहरी प्रमुख रवीन्द्र पौडेलले जानकारी दिनुभयाे । जिल्लाका सबै मतदानस्थलमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगी निर्वाचन पूर्वकाे काम सुरु गरेकाे समेत उहाँले बताउनुभयाे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतहरूसहित २ सय ९६ जना कर्मचारीहरू आवश्यक मतदान सामग्री, सुरक्षाकर्मीसहित मतदान स्थल पुगेका छन् । प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।
निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार सबैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतको समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ जना र बढी थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ५० मतदाता रहेका छन् । त्यस्तै सबै भन्दा दुर्गम लोमन्थाङगापाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्तिक्षेत्र गाउँपालिका–६ साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता रहेका छन् ।
मुस्ताङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्