१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निर्वाचन विरोधी समूहमाथि प्रहरीले बढायो निगरानी


143
Shares

काठमाडौं । प्रहरीले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने तयारीमा रहेका समूहमाथि निगरानी बढाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरीले सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाउको छ ।

निर्वाचन बहिष्कारको निर्णय सार्वजनिक गरेका समूहले हिंसात्मक गतिविधि गर्नसक्ने सम्भावनलाई ध्यानमा राखी प्रहरीले त्यस्ता समूहमाथि निगरानी बढाएको छ । शंकास्पद समूहका १ सय ७२ जनालाई प्रहरीले नियन्त्रण लिएकोमा १ सय ५५ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरीले जनाएको छ । विष्फोटक सामाग्रीसहित पक्राउ १७ जनाविरुद्ध भने मुद्दा दर्ता गर्ने तयारी भइरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

विभिन्न ३१ वटा समूहले आसन्न चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिष्कार समूहले शान्तिपूर्ण गतिविधि गर्ने भनेपनि प्रहरी ती समूहसँग आवद्ध व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ । निर्वाचनबारे भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्ने गरी पूर्वतयारीमा रहन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटलाई परिपत्र गरेको छ । देशभरका २२ हजार ५ सय ३४ मतदान केन्द्रको सुरक्षामा चारवटै सुरक्षा निकायबाट झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन भएका छन् ।

निर्वाचनमा सुरक्षाको दृष्टिले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरिएको छ देशभरका ३ हजार ३ सय २२ मतदान स्थल अति संवेदनशील, ३ हजार ९ सय ८८ संवेदनशील तथा ३ हजार ३ सय ६१ मतदान स्थल सुरक्षाको दृष्टिले सामान्य रुपमा वर्गीकरण गरिएको नेपाल प्रहरीका प्रवक्ता राईले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख मातहत रहने गरी प्रहरी मुख्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको छ ।